जेन-जी विद्रोहका क्रममा क्षतिग्रस्त भएका प्रहरी चौकीहरू पुनः सञ्चालनमा ल्याउन पुर्याएको सहयोगको कदरस्वरूप एक समारोहबीच उक्त समूहलाई सम्मान गरिएको हो ।
काठमाडौँ — नेपाल प्रहरीले रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५–२६ लाई सम्मान गरेको छ । जेन-जी विद्रोहका क्रममा क्षतिग्रस्त भएका प्रहरी चौकीहरू पुनः सञ्चालनमा ल्याउन पुर्याएको सहयोगको कदरस्वरूप एक समारोहबीच उक्त समूहलाई सम्मान गरिएको हो ।
रोटरी प्रेसिडेन्ट एक्सन ग्रुपका अध्यक्ष तथा रोटरी क्लब अफ गोंगबुका अध्यक्ष राजाराम फुयालका अनुसार आन्दोलनबाट प्रभावित प्रहरी चौकीहरूमा सरसफाइ, रंगरोगन, खाद्यान्न, ग्यास, पानी ट्यांकी, सिरक–डसना, फर्निचर तथा कम्प्युटर–प्रिन्टर उपलब्ध गराई पुनः सञ्चालनमा महत्त्वपूर्ण सहयोग गरिएको थियो । केही स्थानमा शौचालय निर्माणसमेत गरिएको उनले जनाए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी, रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर–इलेक्ट विष्णुबहादुर कार्कीलगायत वरिष्ठ प्रहरी अधिकृत तथा रोटरीयनहरूको उपस्थिति रहेको थियो ।
यसैगरी, आन्दोलनको दोस्रो दिनदेखि नै रोटरीले रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै घाइतेहरूको उपचार, अस्पतालसम्म ढुवानी, औषधि तथा खाद्यान्न सहयोगजस्ता मानवीय कार्य पनि गरेको थियो । देशभरका विभिन्न रोटरी क्लबहरूले समेत प्रहरी तथा ट्राफिक पोस्टहरूमा यस्तै सहयोगात्मक कार्यक्रम सञ्चालन गरेका थिए ।
समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रोटरी प्रेसिडेन्ट एक्सन ग्रुपका प्रतिनिधिहरूलाई कदरपत्र प्रदान गर्दै रोटरीको योगदानको प्रशंसा गरे ।
डिस्ट्रिक्ट गभर्नर–इलेक्ट विष्णुबहादुर कार्कीले यस्ता पहलले अन्य संघसंस्थालाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी, रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर–इलेक्ट विष्णुबहादुर कार्कीलगायत वरिष्ठ प्रहरी अधिकृत तथा रोटरीयनहरूको उपस्थिति रहेको थियो ।
