नियम मिच्ने सवारी चालकविरुद्ध कडा निगरानी गर्दै ट्राफिक प्रहरी

मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाएर क्षति पुर्‍याउने चालकको लाइसेन्स नै खारेज गर्ने तयारी छ ।

चैत्र २३, २०८२

रासस

Traffic police are keeping a close watch on drivers who violate traffic rules.

काठमाडौँ — ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ । 

पछिल्ला दिन बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक पदार्थ सेवन (मापसे), लागुपदार्थ सेवन (लापसे) तथा ट्राफिक नियम उल्लङ्घन पनि रहेको निष्कर्षपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान नै सञ्चालन गरेको हो ।

अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी टोलीसहित आफैँ सडकमा खटिने गरेका छन् । ‘कन्ट्रोल रुम’मा बसेको टोलीले कहाँ कुन नम्बरको सवारीसाधनले नियम उल्लङ्घन गरेको छ, सो विषयमा जानकारी दिने गर्छ ।

ट्राफिक प्रहरीले बिहान सबेरै सार्वजनिक सवारीसाधनका चालकहरूलाई लक्षित गरी तथा दिउँसो र साँझतिर विशेषगरी दुईपाङ्ग्रे सवारीसाधनका चालकहरूलाई केन्द्रित गरेर विभिन्न स्थानमा जाँच सुरु गर्ने गरेको छ । अहिले राजधानीका मुख्य चोक, व्यस्त सडक तथा दुर्घटना बढी हुने स्थानहरूमा ट्राफिक प्रहरी परिचालन गरी चालकहरूले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेका छन् वा छैनन् भन्ने परीक्षण गरिँदै आएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर उक्त अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार एक चालकले सार्वजनिक सवारीसाधनमा दर्जनौँ यात्रुको जिम्मेवारी बोकेको हुन्छ, त्यसैले चालकको सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

'एक जना चालकले दर्जनौँ यात्रु बोकेर यात्रा गराइरहेको हुन्छ । यदि त्यही चालकले मापसे वा लापसे गरेर सवारी चलायो भने दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिन्छ ?' उनले भने, 'हाम्रो मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु हो । त्यसैले मापसे र लापसे गरेर सवारी चलाउने चालकविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ ।' 

यसैबीच, ट्राफिक प्रहरीले अबदेखि मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाएर क्षति पुर्‍याउने चालकको लाइसेन्स नै खारेज गर्ने तयारी गरेको छ । ‘डिभाइडर’मा ठोक्काएर सवारी चलाउने तथा यात्रुको ज्यान जोखिममा पार्ने चालकहरूको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने प्रहरीको तयारी छ ।

लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति नियन्त्रण नगरेसम्म दुर्घटना न्यूनीकरण सम्भव नहुने भएकाले अब कडा कदम चाल्नुपर्ने अवस्था आएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए । 'लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति अब सह्य हुँदैन । यस्तो अवस्थामा केवल जरिवाना काटेर मात्रै पुग्दैन, आवश्यक परे चालकको लाइसेन्स नै खारेज गराउने प्रक्रिया अघि बढाइन्छ,' उनले भने । 

ट्राफिक प्रहरीले मापसे र लापसे विरुद्धको अभियानसँगै ट्राफिक नियम उल्लङ्न गर्ने सवारीसाधनका चालकहरूमाथि पनि कडाइ गर्न थालिएको र विशेषगरी ट्राफिक लाइटको पालना नगर्ने चालकहरूलाई निगरानीमा राखेर धमाधम कारबाही भइरहेको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उनका अनुसार ट्राफिक लाइट उल्लङ्घन गरेर रातो बत्ती बल्दा पनि सवारी नरोकी अघि बढ्ने चालकहरूलाई विशेष निगरानीमा राखिएको उनले बताए । 

यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत आज बिहान गरेको सप्राइज चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १२ जना चालक कारबाहीमा परेका छन् ।

यात्रु बोक्ने जस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले लागुपदार्थ तथा मादकपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बरमा खबर गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबैमा आग्रह गरेको छ ।

रासस

Link copied successfully