ललितपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खड्काका अनुसार रातो मत्स्येन्द्रनाथसँग सम्बन्धित सामग्री संग्रहालयमा राख्न गुठी संस्थान तथा विभिन्न संघसंस्थालाई पत्राचार गरिएको छ ।
ललितपुर — ललितपुर महानगरपालिकाले जावलाखेलस्थित रातो मत्स्येन्द्रनाथ संग्रहालयका लागि ऐतिहासिक सामग्री संकलन सुरु गरेको छ । स्थानीय जनजीवन र संस्कृतिसँग सम्बन्ध राख्दै आएको रातो मत्स्येन्द्रनाथसँग सम्बन्धित वस्तु, तस्बिर तथा अभिलेख संग्रहालयमा राख्ने तयारी छ ।
ललितपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खड्काका अनुसार संग्रहालयमा राख्न गुठी संस्थान तथा रातो मत्स्येन्द्रनाथसँग सम्बन्धित विभिन्न संघसंस्थालाई पत्राचार गरिएको छ । 'केही तस्बिर संकलन भइसकेका छन् भने अन्य सामग्री संकलनको प्रक्रियामा छन्,' उनले भने । यस अभियानमार्फत ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक महत्वका सामग्री सुरक्षित रूपमा संरक्षण गर्ने लक्ष्य छ ।
वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो । प्रत्येक वर्ष आयोजना हुने यो जात्रा उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक रथयात्रा मानिन्छ । यही विशिष्ट परम्परा र ऐतिहासिक पृष्ठभूमिलाई व्यवस्थित रूपमा संरक्षण तथा प्रदर्शन गर्न संग्रहालय निर्माण गरिएको हो ।
महानगरपालिकाले स्थानीयवासी, गुठी, तथा विभिन्न संघसंस्थालाई रातो मत्स्येन्द्रनाथसँग सम्बन्धित पुराना सामग्री, तस्बिर, दस्तावेज तथा साँस्कृतिक झल्को दिने अन्य वस्तु उपलब्ध गराउन आह्वान गरेको छ । यसले भावी पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदाबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
महानगरका अनुसार अबको २ महिनाभित्र संग्रहालय निर्माण कार्य सम्पन्न हुनेछ । प्रारम्भिक चरणमा संग्रहालय अवलोकनका लागि छुट्टै शुल्क लिइने छैन । जावलाखेलस्थित सदर चिडियाखानाको टिकट लिएका आगन्तुकहरूले सोही टिकटमार्फत संग्रहालय अवलोकन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
