काठमाडौं महानगरले नयाँ वर्षदेखि रात्रिकालीन बस चलाउने

दुई वटा रुटमा ४ वटा बस चल्ने, प्रत्येक बसमा सीसीटीभी क्यामेरा र सुरक्षाका लागि महानगर प्रहरी खटिने

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City to run night buses from New Year

काठमाडौँ — काठमाडौं महानगरले आगामी नयाँ वर्षदेखि काठमाडौंमा रात्रिकालीन बस चलाउने भएको छ । महानगरले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको हो ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । 

त्यस्तै थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म अर्को रुट कायम गरिएको छ ।  यो रुटको दूरी २० किलोमिटर रहेको छ । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरले जनाएको छ ।

‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ,’ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल भनिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ । त्यसमा पनि किशोरी र महिलाहरूले दुर्व्यवहार भोग्नु परेको छ । विद्यार्थीहरुलाई आर्थिक रूपमा धेरै मर्का छ । यो अवस्थामा सुधार गर्न  सेवा दिन लागेका हौँ ।’ 

यी बस साँझ ८ बजेदेखि राति ११ बजेसम्म चल्ने महानगरले जनाएको छ ।  तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा आउनेछन् । बसमा सीसीटीभी क्यामेरा जडान हुने र सुरक्षाका लागि नगर प्रहरी खटिने पनि कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन् । 

कान्तिपुर

Link copied successfully