सेतो मत्स्येन्द्रनाथ जात्राका लागि महानगरले २० लाख दिने

कार्यवाहक प्रमुख सुनिता डंगोलले जात्रा सञ्चालनका लागि दिँदै आएको सहयोग रकम १० लाखबाट २० लाख पुर्‍याइएको जानकारी गराइन् ।

चैत्र ९, २०८२

रासस

Metropolitan Municipality to provide 2 million for Seto Matsyendranath Jatra

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका यस वर्षको जनबहाःद्य (सेतो मत्स्येन्द्रनाथको रथयात्रा) जात्रा सञ्चालनका लागि जुटेको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बैठकमा रथयात्रा मार्ग व्यवस्थापन, धार्मिक, सांस्कृतिक तथा सामाजिक कामको समन्वय, शान्तिसुरक्षा गरिमालगायत विषयमा सम्बन्ध भएका निकायसँग छलफल भएको छ ।  

जात्रा महानगरका ९ वडा (१, १९, २०, २१, २३, २४, २५, २७ र २८) मा सञ्चालन हुनेछ । कार्यवाहक प्रमुख डंगोलले जात्रा सञ्चालनका लागि दिँदै आएको सहयोग रकम १० लाखबाट २० लाख पुर्‍याइएको जानकारी गराइन् । 

चुस्त सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा संयन्त्र परिचालन गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताए । 'जात्राको भव्यता बढाउन स्थानीयदेखि साझेदार सबैसँग समन्वय गर्ने दायित्व महानगरले लिनुपर्छ,' उनले भने ।

जात्रा सञ्चालन हुने मार्गहरूको मर्मतसम्भार तथा सुधार, सरसफाइसहित व्यवस्थापनको काम महानगरले गर्नेछ । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जात्रा अवलोकनका लागि सहज वातावरण बनाउन आग्रह गरे ।

जनवहाः द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव बज्राचार्यका अनुसार चैत १२ गते केलटोलबाट खटयात्रा सुरु हुनेछ । त्यसै दिन राति १०ः०० बजे राष्ट्रपति दर्शनका लागि असन आउनेछन् । १३ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ । 

१४ गते साँझ ५ बजे हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म पुर्‍याइन्छ । १५ गते लगनस्थित मत्स्येन्द्रनाथकी आमा भएको रूखको परिक्रमा गराइन्छ । त्यसको भोलिपल्ट रथयात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्‍याइन्छ । 

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । 

रासस

Link copied successfully