महिलामा हुने स्तन र पाठेघरको मुखको क्यान्सर नि:शुल्क परीक्षणका लागि महानगर र वीर अस्पतालबीच सम्झौता

महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी र अस्पतालका निर्देशक प्राडा दिलिप शर्माकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

चैत्र ३, २०८२

कान्तिपुर संवाददाता

Agreement between Mahanagar and Bir Hospital for free screening of breast and cervical cancer in women

काठमाडौँ — काठमाडौं महानगरपालिकाले महिलाहरुमा देखिने स्तन तथा पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि वीर अस्पतालसँग सम्झौता गरेको छ । 

महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी र अस्पतालका निर्देशक प्राडा दिलिप शर्माकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । क्यान्सर नसर्ने रोगहरुमध्ये प्रमुख समस्याको रुपमा देखिएको कारण यसको नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ । 

कार्यबाहक प्रमुख डंगोलले, विभिन्न पेशा–व्यवसायमा आवद्ध महिला तथा गृहिणीलाई सहज रुपमा परीक्षण गराउन सकिने गरी समय तालिका मिलाउन निर्देशन दिएकी थिइन् । उनले भनिन्, ‘सेवा सरल, सहज र पहुँच योग्य बनाउनु होला । अपाङ्गता भएका महिलाहरुका लागि विशेष व्यवस्था गर्नुहोला,’ उनले भनिन्, ‘क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउनु एउटा विधि हो । यस विषयमा भएका भ्रम र असजिला पक्षहरुका विषयमा पर्याप्त जानकारी प्रवाह गर्नुहोला । सबै महिलाको पहुँचमा विस्तार गर्न सकिने गरी परीक्षण गराउने प्रबन्ध मिलाउनुहोला ।’

त्यस क्रममा अस्पतालका निर्देशक प्रा. डा. शर्माले, गएको वर्षको सिकाइबाट यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना गरेको बताए । उनले भने,‘उच्च स्तरीय सेवा प्रदान गर्न हामी प्रयास गर्नेछाौ । मलाई लक्षण देखिएकै छैन । किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था विग्रिने गरेको छ,’ उनले भने,‘विग्रिएको यो अवस्था सुधार गर्न लक्षण नभए पनि परीक्षण गराउनु पर्छ ।’ 

स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह हुनुपर्ने जनाएका छन् । परीक्षण चैत १६ गतेदेखि सुरु हुनेछ । हरेक दिन १ सय देखि १२० जनासम्मको परीक्षण गर्ने गरी योजना कार्यान्वयन गरिने उनले बताए । 

कार्यक्रमका फोकल पर्सन चन्द्र भट्टका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनु पर्नेछ । साथै यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ । यो स्लिपमा उल्लेख भएको मिति र समयमा अस्पताल जानुपर्ने हुन्छ । 

महानगरको अनुसार परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जााचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पिसिआर (हृयुमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिने जनाएको छ ।

कान्तिपुर

Link copied successfully