काठमाडौंमा १ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुण्डीको रकमसहित दुई युवकलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

Two hundi traders arrested with Rs 1.16 crore in cash in Kathmandu

काठमाडौँ — नेपाल प्रहरीले १ करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगाबाट हुण्डीको रकमसहित नागार्जुन नगरपालिका–८ भीमढुंगाका २८ वर्षीय सागर गिरी र त्यहीँका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक, विभिन्न बैंकका एटिएम चार थान, नागरिकता एक थान, चारपाङ्ग्रे सवारीसाधन दुई थान, दुईपाङ्ग्रे सवारीसाधन एक थान, सवारी दर्ता  किताब तीन थान बरामद गरिएको उनले बताए । 

यसैगरी, विभिन्न कम्पनीका मोबाइल छ थान, एनसेल, एनटिसीको सिम ३१ थान, कम्प्युटर एक थान बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully