घाइतेलाई तत्काल उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ
काठमाडौँ — काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयको भवनबाट हाम फाल्दा एक विद्यार्थी घाइते भएका छन् ।
प्रहरीका अनुसार बुधबार अपराह्न करिब ४:४० बजे कक्षा ९ मा अध्ययनरत १५ वर्षीय किशोर विद्यालयको तेस्रो तलाबाट हाम फालेका थिए। सिरहा मिर्चैया नगरपालिका–६ घर भएका उनी हाल नयाँ बानेश्वरमा बस्दै आएका छन्।
घाइतेलाई तत्काल उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन कुमार भटराइले जानकारी दिए । उनका अनुसार घाइते बोल्न सक्ने अवस्थामा छन्। उनको चिउँडोमा चोट लागेको छ भने बायाँ तिघ्रा भाँचिएको छ ।
घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको भटराईले जानकारी दिए ।
