ललितपुरमा स्कुलको स्टोरबाट चितुवाको उद्धार

अनुमानित १० वर्षको ६० केजी तौलको चितुवालाई उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको छ ।

फाल्गुन २६, २०८२

रासस

Leopard rescued from school store in Lalitpur

काठमाडौँ — ललितपुर कुसुन्ती हाइटस्थित माछापुच्छ्रे स्कुलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरिएको छ । जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले उद्धार गरेको हो । 

सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरिएको हो । अनुमानित १० वर्षको ६० केजी तौलको चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखाना प्रमुख सत्यनारायण साहले जानकारी दिए । उपचारपछि उक्त चितुवालाई प्राकृतिक बासस्थानमै छोडिने उनले बताए ।

चिडियाखानाले एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारी जीवलगायतको उद्धार गरेको छ । त्यसमध्ये उपचार गरी ५७ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारीलाई प्राकृतिक बासस्थानमै छाडिएको छ । चिडियाखानामा हाल ११५ प्रजातिका एक हजार ३ सयभन्दा बढी वन्यजन्तु छन् ।

रासस

Link copied successfully