काठमाडौंमा वायु प्रदूषण : सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई बढी असर गर्ने भएकाले विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । 

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणबाट सचेतना अपनाउन सबैलाई आग्रह गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् । उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरे । 

मन्त्रालयका प्रवक्ता बुढाथोकीले दीर्घरोगी र गर्भवती महिलालाई समेत वायु प्रदूषणले असर गर्ने भएकाले त्यस्ता समूह सकभर बाहिर ननिस्कनसमेत अनुरोध गरेका छन् । वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई बढी असर गर्ने भएकाले विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयले सबैलाई बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे मास्क लगाउन आग्रह गरेको छ । पुराना गाडीले वायु प्रदूषण बढाउने, वनमा डढेलो, उद्योगधन्दा र विभिन्न निर्माण सामग्रीमा भएका धुलोधुवाँका कारणले प्रदूषण बढेको उनको भनाइ छ । 

अझै एकहप्ता काठमाडौंमा प्रदूषण रहने मन्त्रालयले जनाएको छ । वायु प्रदूषणको कारण काठमाडौं उपत्यकाको आकाश धुम्म छ र घाम लाग्न सकेको छैन । 

वातावरण विभागका अनुसार केही दिनमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौं, पोखरालगायत देशका ठूला सहरमा मसिना कणहरु बढेको जनाइएको छ । 

कान्तिपुर

Link copied successfully