बरामद राइफल भदौ २३/२४ को आन्दोलनमा लुटिएको आशंका
काठमाडौँ — भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफलसहित फागुन १९ गते सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखा जिल्ला पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईंको कोठाबाट राइफलसहित एसएलआरको गोली ४ वटा, प्लास्टिक राउन्ड २ वटा, सर्टगनमा लाग्ने राउन्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा सहित नियन्त्रणमा लिएको हो ।
उनलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरिलाई बुझाइएको छ । उक्त राइफल तथा हतियारमा लाग्ने गोली गत भदौ २३/२४ को आन्दोलनमा लुटिएको आशंका गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।
