गत भदौ २४ गते फरार रहेका युवकसहित ४ जना युवा-युवतीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।
काठमाडौँ — गत भदौ २४ गते फरार रहेका सुनिल थापासहित ४ जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बल नेपालले सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षीय थापालाई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरिएको जनाएको छ । लागुऔषध कारोबार मुद्दामा कैद भुक्तानी गरिरहेका थापा भदौ २४ गते फरार भएका सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।
उनीसँगै लागुऔषध कारोबारमा संलग्न भक्तपुरको लोकन्थली घर बताउने ३३ वर्षीय आशिष पाण्डे, इमाडोल घर बताउने २१ वर्षीया राशी गौतम र काठमाडौँको नक्साल घर बताउने २१ वर्षीय युनिक पोखरेललाई समेत नियन्त्रणमा लिइएको उनले बताए ।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले आज अपरान्न लोकन्थलीको एक गल्लीमा जस्ताको टहरामा डेरा गरी लागुऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १५ ग्राम लागुऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेटसमेत फेला बरामद गरिएको छ ।
नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको प्रवक्ता भट्टले बताए ।
