डोको रिसाइक्लर्सका प्रमुख कार्यकारी अधिकृत पञ्कज पञ्जियारले अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईं र कोषाध्यक्ष अनिल गोर्खालीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
काठमाडौं — नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई ‘डोको एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित गरिएको छ । ‘डोको रिसाइक्लर्सले ‘इमर्जिङ इम्प्याक्ट पार्टनर’का रूपमा अस्पताललाई सम्मान गरेको हो ।
शुक्रबार आयोजित कार्यक्रमबीच डोको रिसाइक्लर्सका प्रमुख कार्यकारी अधिकृत पञ्कज पञ्जियारले अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईं र कोषाध्यक्ष अनिल गोर्खालीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
आँखा अस्पतालले विगतका वर्षहरूमा डोको रिसाइक्लर्ससँगको सहकार्यमा फोहर छुट्याउने प्रणालीलाई सुदृढ बनाई, सुरक्षित विसर्जन अभ्यासलाई सुधार गर्नुका साथै कर्मचारीहरूमा वातावरणीय सचेतना वृद्धि गर्दै आएको छ । जसको फलस्वरुप अस्पतालले समग्र वातावरणीय प्रभावमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
डोको रिसाइक्लर्सको तथ्यांयकअनुसार, यस अवधिमा आँखा अस्पतालबाट विसर्जन भएको कुल २.६६ टन फोहर पुनः प्रयोग हुँदा करिब २८ वटा बराबर रुख संरक्षण भएको छ । साथै, ल्यान्डफिल साइटमा एक हजार १३ घनफिट स्थान बचत भएको र २.२ टन बराबर कार्बन उत्सर्जन कम भएको छ ।
आँखा अस्पतालबाट पुनः प्रयोग गर्न सकिने फोहर डोको रिसाइक्लर्सले सङ्कलन गर्दै आएको छ । संस्थाका अनुसार अस्पतालमा फोहर उत्पादन, सङ्कलन र विसर्जन प्रक्रिया वैज्ञानिक तथा निर्धारित मापदण्डअनुसार सञ्चालन हुँदै आएको छ ।
