आज साँझ उपत्यकामा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूती पोखरेलले आज देशका विभिन्न भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइन् ।

फाल्गुन १२, २०८२

रासस

Light rain likely in the Valley this evening

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज साँझसम्म उपत्यकासहित गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । यी स्थानमा बादल लाग्नुका साथै हल्का मेघगर्जन सुरु भएको महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् विभूती पोखरेलले आज देशका विभिन्न भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइन् । 'आज साँझसम्म वर्षाको सम्भावना रहे पनि पश्चिमी न्यूनचापीय रेखा कमजोर हुँदै जाने भएकाले क्रमिक रूपमा सुधार हुने छ,' उनले भनिन् । 

पोखरेलका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना  छ । साथै, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

तराईका केही क्षेत्रमा भने बिहीबार बिहानसम्मै हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसले विशेषगरी सवारी आवागमन र हवाई उडानमा सामान्य असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

रासस

Link copied successfully