तारेभीरको डढेलो हेलिकोप्टरले पानी खन्याएर निभाइयो

आइतबार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको तारेभीर जंगलमा लागेको डढेलो सिम्रिक एयरको हेलिकोप्टरले पानी खन्याएर नियन्त्रणमा लिएको हो ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका - ३ सुन्ताखानमा लागेको डढेलो हेलिकोप्टरबाट पानी खन्याएर निभाइएको छ ।   

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको तारेभीर जंगलमा आइतबार लागेको डढेलो सिम्रिक एयरको हेलिकोप्टरले पानी खन्याएर नियन्त्रणमा लिएको हो । गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार हेलिकोप्टरले १३ पटक पानी खन्याएर डढेलो नियन्त्रणमा लिएको हो । उनले हेलिकोप्टरले सामाजिक उत्तरदायित्व अन्तर्गत नि:शुल्क सेवा दिएको बताइन् ।

तारेभीरको डढेलो बागद्वार तथा बस्तीतर्फ जानबाट रोकिएको र यसले ठूलो जनधनको क्षति हुनबाट जोगाएको आचार्यले बताइन् । 

डढेलो नियन्त्रणमा लिन सुरक्षाकर्मी, निकुञ्जका कर्मचारी तथा स्थानीयसमेत खटिएका थिए । आइतबार बिहान ९:४५ बजेदेखि लागेको डढेलो बस्तीतर्फ अघि बढेपछि गृह मन्त्रालयले हेलिकोप्टर पठाएको थियो । 

डढेलो नियन्त्रणमा सुरक्षाकर्मी, निकुञ्जका कर्मचारीलगायत स्थानीय निकायसमेत सामेल भएका थिए ।

कान्तिपुर

Link copied successfully