संघीय सरकार र महानगरपालिकाबीच शुक्रबार भएको छलफलले धरहराको हस्तान्तरण तथा सञ्चालन र व्यवस्थापन प्रक्रियाको अध्ययन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।
काठमाडौँ — ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ ।
संघीय सरकार र महानगरपालिकाबीच शुक्रबार भएको छलफलले धरहराको हस्तान्तरण तथा सञ्चालन र व्यवस्थापन प्रक्रियाको अध्ययन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिन आवश्यक अध्ययन समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन् । उनले धरहराको पार्किङ र सञ्चालनको ठेक्का लिएको निजी कम्पनीलाई कुनै पनि असर नपर्ने गरी अध्ययन गरेर निष्कर्ष निकाल्ने र सोहीअनुसार अघि बढ्ने निर्णय भएको बताइन् ।
धरहराको बेसमेन्ट पार्किङको व्यवस्थापनसमेत काठमाडौं महानगरलाई दिने निर्णय गरिएको छ । महानगरपालिकाले न्युरोड क्षेत्रलाई 'नो पार्किङ जोन' घोषणा गरी कार्यान्वयन गरिरहेको अवस्थामा धरहरामा निःशुल्क पार्किङको सुविधा गर्ने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ ।
उनले धरहराको व्यवस्थापन र हस्तान्तरण काठमाडौं महानगरपालिकालाई दिइए महानगरको आन्तरिक राजस्व बढ्ने विश्वास पनि व्यक्त गरिन् ।
