२५ माघ परेको उजुरीका आधारमा विभागले र्यापिड रिस्पोन्स मोडालिटीअन्तर्गत गरेको अनुगमन तथा निरीक्षणका क्रममा उक्त कारबाही गरेको जनाएको छ ।
काठमाडौं — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुमतिविनै सञ्चालनमा रहेको एलजी ग्लुकोज प्याकेजिङमाथि कारबाही गरेको छ ।
विभागले कारबाहीस्वरुप एलजी ग्लुकोज प्याकेजिङमा रोक लगाएको छ । २५ माघ परेको उजुरीका आधारमा विभागले र्यापिड रिस्पोन्स मोडालिटीअन्तर्गत गरेको अनुगमन तथा निरीक्षणका क्रममा उक्त कारबाही गरेको जनाएको छ ।
‘अनुगमनका क्रममा एउटा कोठामा ग्लुकोज प्याकेजिङ भइरहेको फेला परेको थियो,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता डा. बालकुमारी शर्माले भनिन्, ‘नमूना समेत संकलन गरेर परीक्षण हुँदैछ । तत्कालको लागि उक्त ग्लुकोज बिक्री वितरण नगर्न निर्देशनसहित रोक्का राखिएको छ ।’
शर्माका अनुसार चन्द्रागिरि नगरपालिका–१५, काठमाडौंबाट एलजी ग्लुकोज प्याकेजिङ नामबाट ग्लुकोज प्याक हुँदै आएको थियो । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुमतिपत्र नलिई उत्पादन भएको ग्लुकोज सोही ऐनको दफा(३५) बमोजिम बिक्री वितरण नगर्ने निर्देशनसहित ४ सय केजी रोक्का राखिएको छ । साथै, प्रयोगशाला परीक्षणका लागि समेत विभागले ग्लुकोज लगेको छ । विभागले बजारमा अनुमतिविनै उत्पादन तथा बिक्री वितरण गर्ने गतिविधिविरुद्ध अनुगमनलाई थप तिव्र पारेको जनाएको छ ।
