शिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ क्षेत्रमा रङरोगन सुरु

यस वर्ष महाशिवरात्रि पर्व ३ फागुनमा परेको छ । शिवरात्रि नजिकिँदै जाँदा पशुपति क्षेत्रमा धार्मिक गतिविधि बढ्दै गएको छ ।

माघ २६, २०८२

रासस

Painting ceremony begins in Pashupatinath area targeting Shivaratri

काठमाडौँ — महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारसम्बन्धी कामले तिव्रता पाएको छ ।

भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी काम अघि बढाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिए । 

महाशिवरात्रिका दिन ठूलो स‌‌ङ्ख्यामा भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने भएकाले भिड व्यवस्थापन, सुरक्षा र आपत्कालीन सेवामा विशेष ध्यान दिएको र सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँगको समन्वयमा तयारीलाई तीव्रता दिएको प्रवक्ता जोशीले बताए । 

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । 

महाशिवरात्रिलाई लक्षित गर्दै अहिले पशुपतिनाथ क्षेत्रमा साधु–सन्तहरूको आगमन सुरु भइसकेको छ । महाशिवरात्रि पर्व नजिकिँदै जाँदा साधु–सन्तहरूको चहलपहल बढ्दै गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

यस वर्ष महाशिवरात्रि पर्व ३ फागुनमा परेको छ । महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति क्षेत्रमा धार्मिक गतिविधि बढ्दै गएको छ । साधु–सन्तहरूको आगमनसँगै भक्तजनको आवागमन पनि बढ्न थालेको कोषले जनाएको छ ।

रासस

Link copied successfully