परिसरका एसएसपी रमेश थापाका अनुसार पक्राउ परेकामध्ये एकजना जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी हुन् ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाका पूर्व मेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चप्पल कारखानास्थित घरमा चोरी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगर-१६ का ४२ वर्षीय मनिष राजवहाक, सिन्धपुाल्चोक लिसंखुपाखर-६ घर भइ काठमाडौं-३१ बस्ने ४६ वर्षीय खिम बहादुर खड्का र डोटी दिपायल वसलगढी- ६ भइ धादिङ धुनिबेँसी नगरपालिका-७ का ४५ वर्षीय संजय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
परिसरका एसएसपी रमेश थापाका अनुसार राजवहाक जेन-जी आन्दोलनका क्रममा २४ भदौंमा नख्खु कारागारबाट भागेका कैदी हुन् । उनी २३ माघमा बाँसबारी क्षेत्रबाट पक्राउ परेका हुन् ।
यस्तै, खिमबहादुर खड्कालाई हिजो शनिबार प्रहरीले जडीबुटी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हुन् । संजय श्रेष्ठलाई भने प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । श्रेष्ठविरुद्ध पनि यसअघि जबर्जस्ती करणी मुद्दा लागेको प्रहरीको भनाइ छ ।
उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप, सुनका गरगहना, सीसीक्यामेरालगायत सामान बरामद गरेको जनाएको छ ।
