पर्यटन बोर्डमा ‘कोञ्ज्योसोम भारदेउ’ फोटो प्रदर्शनी

प्रदर्शनी माघ २५ गतेसम्म भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सञ्चालन हुनेछ ।

माघ २४, २०८२

कान्तिपुर संवाददाता

'Konjyosom Bhardeu' photo exhibition at the Tourism Board

What you should know

काठमाडौँ — कोञ्ज्योसोम गाउँपालिका वडा नं. ५, भारदेउको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई उजागर गर्ने उद्देश्यसहित 'कोञ्ज्योसोम भारदेउ' शीर्षकको फोटो प्रदर्शनी नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा औपचारिक रूपमा शुक्रबार उद्घाटन गरिएको छ।

उक्त प्रदर्शनी कोञ्ज्योसोम गाउँपालिका–५, भारदेउ तथा कोञ्ज्योसोम धार्मिक पर्यटन समितिको संयुक्त आयोजनामा भएको हो। यस प्रदर्शनीमार्फत यस क्षेत्रका धार्मिक, पर्यटकीय तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दै सांस्कृतिक तथा पर्यटन विकास अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।

प्रदर्शनीमा प्रख्यात फोटोग्राफर तथा पर्यटन प्रवर्द्धन अभियन्ता लक्ष्मीप्रसाद ङाखुसीले खिचेका ४२ वटा तस्बिरहरू प्रदर्शनीमा राखिएका छन्, जसमध्ये ८ वटा लाइफ–साइज तस्बिरहरू विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। तस्बिरहरूले भारदेउ क्षेत्रको आध्यात्मिक वातावरण, प्राकृतिक सौन्दर्य तथा जीवित सांस्कृतिक परम्परालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनील शर्माले फोटोग्राफी तथा दृश्य कथनमार्फत गन्तव्य प्रवर्द्धनमा बोर्ड निरन्तर रूपमा फोटोग्राफर तथा गन्तव्यहरूसँग सहकार्य गर्दै आएको जानकारी दिए। साथै उनले हालै बोर्डले फोटोनेपाल डट ओआरजी नामक नयाँ डिजिटल प्लाटफर्म सञ्चालनमा ल्याएको जानकारी दिँदै, यसले नेपालका गन्तव्यहरूलाई गुणस्तरीय फोटोग्राफीमार्फत विश्वसमक्ष प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

उद्घाटन समारोहमा कोञ्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरे, वडा नं. ५ का वडा अध्यक्ष विजय सिङ्तान र कोञ्ज्योसोम धार्मिक पर्यटन समितिका अध्यक्ष गोपीलाल सिङ्तानको उपस्थिति रहेको थियो। उनीहरूले स्थानीय तहबाट धार्मिक तथा ग्रामीण पर्यटन प्रवर्द्धनमा यस्ता सिर्जनात्मक पहलहरू महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।

यो प्रदर्शनी नेपाल पर्यटन बोर्डको नयाँ गन्तव्यहरूको प्रवर्द्धन, डिजिटल प्लेटफर्ममार्फत दृश्य सामग्रीको प्रबर्द्धन तथा स्थानीय तहसँगको सहकार्यलाई सुदृढ गर्दै पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन रणनीतिको प्रमुख कार्यक्रमका रूपमा रहेको छ।

यस फोटो प्रदर्शनी माघ २३ देखि २५ (फेब्रुअरी ६–८), बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा सर्वसाधारणका लागि अवलोकनार्थ खुला रहनेछ।

कान्तिपुर संवाददाता

Link copied successfully