त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिममा ९ महिलासहित ९२ प्रहरी निरीक्षक सहभागी थिए ।
What you should know
काठमाडौँ — १८३औं प्रहरी निरीक्षक समूहअन्तर्गत १४औं पोस्ट ग्राजुएट डिप्लोमा इन पुलिस साइन्स (प्रहरी निरीक्षक आधारभूत तालिम) को दीक्षान्त समारोह सम्पन्न भएको छ । काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूलाई दीक्षित गरेकी हुन् ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित उक्त तालिम ११ साउन २०८१ मा सुरु भएको थियो । तालिममा ९ महिलासहित ९२ प्रहरी निरीक्षक सहभागी थिए ।
प्रधानमन्त्री कार्कीले तालिममा सर्वप्रथम एवं शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम भएका प्रहरी निरीक्षक निराजन बस्नेतलाई स्वर्गीय 'कुलानन्द विद्या सर्वप्रथम पुरस्कार' सहित द्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, तृतीय ताराबहादुर तामाङ, कवाज प्रथम ईश्वर महत, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी दिनेशप्रसाद रिमाल, अध्ययन प्रथम प्रशिक्षार्थी नविनकुमार शाही र मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी चाईलाई पुरस्कार प्रदान गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीले कठिन परिश्रम, अनुशासन र समर्पण भावका साथ प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापुर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको र यस दायित्वमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने उल्लेख गर्दै कुनै राजनीतिक प्रभाव, पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्मअनुसार सबै प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन् ।
उक्त अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रको आन्तरिक सुरक्षा जस्तो गहन जिम्मेवारी वहन गरेको नेपाल प्रहरीको काँधमा कानुन कार्यान्वयन, अपराध नियन्त्रण र अनुसन्धान, मानव अधिकारको संरक्षण, विपद् व्यवस्थापन जस्ता संवेदनशील दायित्वहरू रहेको बताए ।
समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ज्ञान, सिप र क्षमता विकासका लागि प्रशिक्षणका विभिन्न उतारचढाव, कठिनाई अनि चुनौतीहरू पार गर्दै दीक्षित भएका प्रहरीलाई संगठनमा स्वागत गरेका थिए ।
