सानोथिमिस्थित बालसुधार गृहका ७५ जना बालबिँज्याइकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागारमा खम्पा क्याम्पमा स्थानान्तरण गरिएको हो ।
भक्तपुर — भक्तपुरको सानोथिमिस्थित बालसुधार गृहका ७५ जना बालबिँज्याइकर्तालाई नुवाकोटस्थित केन्द्रीय कारागारमा खम्पा क्याम्पमा स्थानान्तरण गरेको छ । त्यस स्थानमा उनीहरुलाई बालसुधार गृहकै सेवा सुविधा दिएर राखिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
उनीहरुलाई आइतबार बिहान स्थानान्तरण गरिएको हो ।
माघ ८ गते राति भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृहमा झडप आगजनी र तोडफोड भएपछि सबै बालबिँज्याइकर्ताहरुलाई उपत्यकाको विभिन्न कारागारमा राखिएको थियो ।
त्यसमध्ये १८ वर्षभन्दा माथिका ७५ जनालाई नवाकोटस्थित कारागार स्थानान्तरण गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । १८ वर्षभन्दा माथि उमेरका एक जना उपचाररत रहेकाले पछि नुवाकोट पठाइने छ ।
१८ वर्षभन्दा कम उमेर समूहका ७१ जना बाँकी बालबिज्याइँकताहरुलाई पनि हेटौंडा अथावा वीरगन्ज स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
बालसुधार गृहका २६ जना बालिकाहरुलाई भने सानो थिमिको सुधार गृहमै राखिने जिल्ला प्रहरी कार्यालयल भक्तपुरको प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
गत माघ ८ गते राति भक्तपुरको सानो थिमिस्थित बाल सुधार गृहमा झडप भएको थियो । उनीहरुबीच कुटपिट हुनुका साथै सुधार गृह तोडफोड गरी आगजनी गरेका थिए । १८ वर्षभन्दा माथि उमेर समूहका बालबिँज्याइकर्ताहरुकै कारण समय समयमा बाल सुधार गृहभित्र झगडा तथा तोडफोड हुने गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पनि आइतबार सानो थिमिस्थित बाल सुधार गृहको निरीक्षण गरेका थिए ।
