केन्द्रका तर्फबाट अध्यक्ष डा. राजेन्द्र गिरि र हिसानका तर्फबाट अध्यक्ष युवराज शर्माले समझदारीपत्रमा हस्ताक्षर गरे ।
What you should know
काठमाडौँ — उच्च शिक्षालय तथा माध्यमिक संघ नेपाल (हिसान) र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र (टीयूएलबीटीआरसी) बीच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौंमा रहेको क्यापिटल कलेज एन्ड रिसर्च सेन्टरमा शुक्रबार आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । केन्द्रका तर्फबाट अध्यक्ष डा. राजेन्द्र गिरि र हिसानका तर्फबाट अध्यक्ष युवराज शर्माले समझदारीपत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा हिसानका तर्फबाट अध्यक्ष शर्मासहित उपाध्यक्ष हरिचन्द्र लामिछाने, महासचिव रामहरि सिलवाललगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै, केन्द्रका तर्फबाट अध्यक्ष डा. गिरिसहित पूर्वअध्यक्ष रुद्रहरि ज्ञवाली, कार्यसमिति सदस्य किशोर भट्टराई, मेडिकल डाइरेक्टर डा. विपिन नेपाल, तथा कार्यवाहक जनरल म्यानेजर कोमल अधिकारीको उपस्थिति रहेको थियो ।
हिसानमा आबद्ध शैक्षिक संस्थाहरूमा नियमित, योजनाबद्ध तथा दिगो रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, रक्तसञ्चारसम्बन्धी सचेतनामूलक तथा जागरण कार्यक्रम आयोजना गर्ने, विद्यार्थीहरूलाई स्वयंसेवी सामाजिक कार्य तथा अन द जब ट्रेनिङ कार्यक्रममा समावेश गर्ने विषयहरू समझदारीपत्रमा समेटिएका छन् ।
यसैगरी, रक्तदान कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति, सामग्री, रक्त संकलन, परीक्षण, ढुवानी तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी केन्द्रले लिने व्यवस्थासमेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।
समझदारीपत्रमा हस्ताक्षर भएकै दिन सीसीआरसी कलेजमा संयुक्त रक्तदान कार्यक्रम पनि भएको थियो । कार्यक्रममा ९१ जना रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।
रक्तदानको अघिल्लो दिन कलेजका विद्यार्थी क्लबहरूले स्थानीय समुदायलाई समेट्दै र्यालीमार्फत रक्तदानका लागि आह्वान गरेका थिए । समझदारीपत्रको अवधि तीन वर्षको रहने छ ।
आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, अनुसन्धान, आर्थिक सहयोग तथा सामाजिक क्षेत्रमा समेत सहकार्य विस्तार गर्दै सुरक्षित, नियमित र गुणस्तरीय रक्त आपूर्ति सुनिश्चित गर्ने दुवै संस्थाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
