नगदेशमा परापूर्वकालदेखि पुलुकिसी नाच जात्राको रूपमा प्रदर्शन हुँदै आएको छ ।
काठमाडौँ — नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलःको आयोजनामा शनिबार नगदेशमा ऐतिहासिक पुलुकिसी नाच प्रदर्शन गरिएको छ ।
यसपल्ट नाचको मुख्य कलाकार जेनिस बाडे रहेका थिए र उनले पुलुकिसीमा सवार भएर लावण्य देशका राजा नवराजको भूमिका निभाए । नगदेशमा परापूर्वकालदेखि यो पुलुकिसी नाच जात्राको रूपमा प्रदर्शन हुँदै आएको छ ।
यो नाच श्री स्वस्थानी व्रतको कथामा आधारित छ । नाचको सम्पूर्ण विधि स्वस्थानी अनुसार नै हुने गर्छ । यसपल्टको नाचमा नागचाःको भूमिका श्रीजल बाडे रहेका थिए भने दुई साथीमा चार्भी बाडे र दीप्सा उप रहेका थिए । दुई साता अगाडि नै नाचको तयारी सुरु भएको थियो । यस्तै, नाचको प्रमुख बाजा, नायखिं बाजाको प्रशिक्षण एक महिना अगाडि नै सुरु गरएको थियो ।
हरेक वर्षझैं यसपल्ट पनि माधवनारायण पर्व सुरु भइसकेको छ । नगदेशको लाछिस्थित सिद्धी गणेश मन्दिरमा भगभवा माधवनारायण ल्याएर विराजमान गराएपछि नवराजले पूरा गरेका थिए । त्यसपछि पुलुकिसी नाच सुरु गरिएको थियो र यसक्रममा नगर परिक्रमा गरिएको थियो ।
