काठमाडौं उपत्यकाका पुराना विद्यालयमध्ये काठमाडौं महानगरपालिका–३ मा पर्ने शिवपुरी सुरुमा बाँसबारी आधार पाठशाला,बाँसबारी मिडिल स्कुल, बाँसबारी माध्यमिक विद्यालय हुँदै २०३० को दशकको सुरुवातीदेखि शिवपुरी विद्यालयका रूपमा कायम छ ।
What you should know
काठमाडौँ — काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयले ७७ औं स्थापना दिवस मनाएको छ । देशभरका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित शिवपुरीले बुधबार आफ्नो स्थापना दिवस मनाएको हो ।
राणा शासन कायम रहेकै बेला तत्कालीन सरकारले २००५ सालमा विद्यालय खोलेकामा त्यसपछिका विभिन्न काल खण्ड पार गर्दै आजको अवस्थामा विद्यालय आइपुगेको हो । काठमाडौं महानगरपालिकाको कम्प्युटर शिक्षातर्फ प्राविधिक शिक्षालयका रूपमा विकास गरिएको शिवपुरीमा स्नातक तहसम्मको पठनपाठन हुन्छ ।
राणा शासनका बेला खोलिएको विद्यालयले विभिन्न कालखण्ड गुजार्दै अहिलेको शिवपुरीका रूपमा विकसित भएको प्रधानाध्यापक प्रकाश सुवेदीले जानकारी दिए । काठमाडौं उपत्यकाका पुराना विद्यालयमध्ये काठमाडौं महानगरपालिका–३ मा पर्ने शिवपुरी सुरुमा बाँसबारी आधार पाठशाला,बाँसबारी मिडिल स्कुल, बाँसबारी माध्यमिक विद्यालय हुँदै २०३० को दशकको सुरुवातीदेखि शिवपुरी विद्यालयका रूपमा कायम छ ।
स्थापना दिवस कार्यक्रममा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले शिवपुरी सामुदायिक विद्यालयमध्येको अग्रणी शैक्षिक संस्था बन्न सफल रहेको बताइन् । ५३ जना शिक्षक र ८ जना कर्मचारी कार्यरत विद्यालयमा १५ सय बढी विद्यार्थी अध्ययनरत छन् ।
१ देखि १२ कक्षाका अलावा शिवपुरीको संरचनाबाटै स्नातक तहका २ वटा संकाय व्यवस्थापन र मानविकीको संकायको पठनपाठन हुन्छ । खासगरी विद्यालयमा अध्ययनरत छात्रछात्राको परिवारको आर्थिक अवस्था सामान्य रहेका देखि पारिवारिक पृष्ठभूमि भएका छात्रछात्राको रोजाइमा शिवपुरी रहेको प्रधानाध्यापक सुवेदीको भनाइ छ ।
कार्यवाहक मेयर डंगोलले विद्यालय र विद्यार्थीको आचरण, अनुशासन र भविष्य थप उत्कृष्ठ बन्नेमा आफू विश्वस्त रहेको बताइन् । सिकाइलाई प्रविधिसँग जोड्दै अझै उच्चस्तरको पठनपाठन गराउन पनि सुझाव दिइन् ।
