१२४ दिनपछि सञ्चालनमा आयो मेट्रो ट्राफिक एफएम

गत भदौ २४ गतेको प्रदर्शनका क्रममा क्षति पुगेपछि एफएमको प्रसारण रोकिएको थियो ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

Metro Traffic FM comes into operation after 124 days

काठमाडौँ — मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्ज १२४ दिनपछि पुनः सञ्चालनमा आएको छ ।

गत भदौ २४ गतेको प्रदर्शनका क्रममा क्षति पुगेपछि एफएमको प्रसारण रोकिएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आएको उक्त रेडियो प्रदर्शनका क्रममा आगलागी र चोरीको घटनाबाट क्षति पुगेपछि बन्द भएको थियो ।

'आगलागी र चोरीबाट जलेका तथा हराएका सामग्रीहरू दाताहरूको सहयोगमा व्यवस्थापन गरी रेडियो पुनः सञ्चालनमा ल्याइएको हो,' उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले भने, 'आन्दोलनबाट भएको क्षतिका कारण पहिले १ हजार वाट क्षमतामा सञ्चालन हुँदै आएको रेडियोलाई हाल ५ सय वाटमा झारेर प्रसारण सुरु गरिएको छ ।'

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको ट्राफिक सप्ताहअन्तर्गत रेडियोलाई औपचारिक रूपमा शनिबारदेखि पुनः उद्घाटन गरिएको हो ।

२०६९ सालदेखि सञ्चालनमा आएको मेट्रो ट्राफिक एफएमले सडक, ट्राफिक तथा सुरक्षासम्बन्धी सामग्रीहरू प्रसारण गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully