ट्राफिक सप्ताहमा १३९ जनाले गरे रक्तदान

उपत्यका ट्राफिक प्रहरी कार्यालय बगिखानामा आयोजित कार्यक्रममा ११ महिलासहित १३९ जनाले रक्तदान गरेका कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

139 people donated blood during Traffic Week

काठमाडौँ — सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको ट्राफिक सप्ताहअन्तर्गत शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय बगिखानामा आयोजित कार्यक्रममा ११ महिलासहित १३९ जनाले रक्तदान गरेका कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

माघ ३ सम्म चल्ने ट्राफिक सप्ताहअन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम गरिने छन् । जसमा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्ने तरिका सिकाउने, दुईपांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) लक्षित सचेतना कार्यक्रम, सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस्ने तथा विद्यालय र कलेजका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने कार्यक्रम समावेश छन्।

अभियानअन्तर्गत ट्राफिक लाइट उद्घाटन, चालकसँग चिया कार्यक्रम, चालकको एकदिने आँखासहित स्वास्थ्य परीक्षण शिविर, सडक सरसफाइ, रुख छाँटकाट तथा सवारी साधनको यान्त्रिक र प्रदूषण परीक्षण पनि गरिनेछ ।

यसैगरी ट्राफिक प्रहरी कर्मचारीलाई आचरण, व्यवहार तथा ड्युटीका क्रममा अपनाउनुपर्ने सावधानीबारे विशेष प्रशिक्षण दिइने एसपी सुवेदीले जानकारी दिए ।

उपत्यकामा बढी दुर्घटना हुने स्थानहरूमा सरप्राइज संयुक्त जाँच, मुख्य चोक तथा जक्सनहरूमा दुर्घटनाका कारण र त्यसबाट सिर्जित परिणामबारे माइकिङसहित सांगीतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

ट्राफिक सप्ताहका कार्यक्रमबारे टिकटक, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तथा सचेतनामूलक सामग्री प्रकाशन गरिने जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully