सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
What you should know
काठमाडौँ — प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता तथा अनुशासनको प्रदर्शन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
बिहीबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट उनले आसन्न निर्वाचनको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता, समसामयिक विषयवस्तुलगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा निर्देशन दिएका हुन् ।
आईजीपी कार्कीले समाजमा देखा परेको सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाइ प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए । साथै कुनै पनि अपराधविरूद्ध निर्मम आ-आफ्नो जिम्मेवारी वहन गर्न पनि उनले निर्देशन दिए ।
आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न तथा आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा पनि उनले जोड दिए । सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीलेसमसामयिक विषयमा निर्देशन दिएका थिए ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
