इन्डिजिनियस जेन-जी कलेक्टिभले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि बुधबार दिउँसो शान्तिपूर्ण प्रदर्शन गरेको हो ।
What you should know
काठमाडौँ — समानुपातिक समावेशी निर्वाचन प्रणालीको प्रणालीगत दुरुपयोग र असंवैधानिक अतिक्रमणको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
इन्डिजिनियस जेन-जी कलेक्टिभले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि बुधबार दिउँसो शान्तिपूर्ण प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले 'संविधानले सुनिश्चित गरेको समावेशी समानुपातिक व्यवस्था लागू गर', 'उत्पीडित सिमान्तकृत, अल्पसंख्यकका लागि छुट्याइएको ठाँउ ओगट्न बन्द गर', 'समावेशी, समानुपातिक व्यवस्था तत्काल लागू गर, समावेशी समानुपातिकको नाममा आफ्नो आसेपासे भरौटेलाई ठाउँ दिन बन्द गर,' लगायतका नारा लेखिएका प्लेकार्ड, व्यानर सहित प्रदर्शन गरे ।
समानुपातिक प्रतिनिधित्व कुनै राजनीतिक देन नभई समानता, समावेशीकरण, पुनर्स्थापनात्मक न्याय र वास्तविक लोकतन्त्रमा आधारित बाध्यकारी संवैधानिक दायित्व भएको उनीहरुको भनाइ छ ।
नेपालको संविधानको धारा ४२(१), ८४(२) र १७६(६) ले महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारु, मुस्लिम, खस आर्य, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक र अन्य सीमान्तकृत समुदायहरूको सबै राज्य संरचनामा अर्थपूर्ण सहभागिता सुनिश्चित गरेको भए पनि राजनीतिक दलहरूले हालै सार्वजनिक गरेका समानुपातिक उम्मेदवार सूचीले ती संवैधानिक प्रावधानहरू उल्लंघन गरेको कलेक्टिभको दाबी छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रकाशित समानुपातिक सूचीमा राजनीतिक, पारिवारिक र आर्थिक सम्भ्रान्त वर्गलाई प्राथमिकता दिइएको र भूइँतहका आवाजहरूलाई प्रणालीगत रूपमा बहिष्कृत गरिएको कलेक्टिभको ठहर छ ।
इन्डिजिनियस जेन–जी कलेक्टिभले समानुपातिक सूची तयार गर्दा अपनाइएका मापदण्ड र प्रक्रिया सार्वजनिक गर्न, संवैधानिक उल्लंघन गर्ने पार्टी र व्यक्तिहरूलाई जवाफदेही बनाउन तथा सबैभन्दा सीमान्तकृत समुदायहरूको न्यायोचित सहभागिता सुनिश्चित गर्न माग गरेको छ ।
