वेबसाइट ह्याकिङ र डेटा चोरी आरोपमा दुई जना पक्राउ

साइबर ब्युरोमा नेपाल मेडिकल काउन्सिल, निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट उजुरी परेको थियो ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

Two arrested for website hacking and data theft

काठमाडौँ — नेपाल प्रहरीको  साइबर ब्युरोले विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूको सूचना प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा मेचीनगरका २० वर्षीय सन्तोष चिमरिया र दमकका १९ वर्षीय विकास पौडेल रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा र सिन्धुपाल्चोकको सहयोगमा पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । ब्युरोमा नेपाल मेडिकल काउन्सिल, निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट उजुरी परेको थियो ।

साइबर ब्युरोका अनुसार पछिल्ला केही महिनादेखि वेबसाइट ह्याकिङ तथा डेटा चोरीका घटनामा संलग्न भई सीएमडी नेपाल र नेपाली फर नेपाल नाम प्रयोग गरी सामाजिक सञ्जालमार्फत दाबी र प्रचार गरिएको थियो। प्रारम्भिक प्राविधिक विश्लेषण र अनुसन्धानका क्रममा उनीहरूको संलग्नता खुलेपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अगाडि बढाइएको हो।

अनुसन्धानका क्रममा उनीहरूको कब्जाबाट ल्यापटप, मोबाइल फोन, हार्ड ड्राइभलगायत विद्युतीय उपकरणहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully