काठमाडौं जिल्ला प्रशासनमा क्युआर टोकन प्रणाली सुरु

सेवाग्राहीलाई सरल र छिटो सेवा दिने उद्देश्यले स्थापना गरिएको प्रणालीको गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले शुक्रबार संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

QR token system launched in Kathmandu District Administration

What you should know

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम–पीएएस) र क्युआरसहितको टोकन प्रणाली सुरु गरेको छ ।

सेवाग्राहीलाई सरल र छिटो सेवा दिने उद्देश्यले स्थापना गरिएको प्रणालीको गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले शुक्रबार संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

QR token system launched in Kathmandu District Administrationकाठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जेन–जी आन्दोलनको भावना अनुसार यो प्रणालीको विकास गरेको बताए । ‘जेन–जी आन्दोलनको एउटा माग छिटो, छरितो र झन्झटरहित हुनपर्छ भन्ने थियो,’ पौडेलले भने,‘सुशासनको एउटा मोडलको रूपमा सूचना प्रविधिको उच्चतम प्रयोग गरेर हामीले यो सेवा सुरु गरेका हौँ ।’

उनका अनुसार प्रणालीमार्फत सेवा लिन आउने सेवाग्राहीले कार्यालयभित्र प्रवेश गरेपछि पहिले सेवाग्राहीको कागजात रुजु गरिनेछ ।

त्यसपछि उनीहरूले लिन चाहेको सेवाका आधारमा टोकन लिएर सम्बन्धित शाखाबाट सेवा लिन सकिन्छ । सेवाग्राहीले आफ्नो पालोको विषयमा मोबाइलमार्फत पनि टोकनको क्यूआर स्क्यान गरेर जानकारी लिन सक्छन् ।

प्रशासन कार्यालयले झ्याल र ढोकामा उभिएर/भिड गरेर सेवा लिनु पर्ने बाध्यता यो प्रविधिसँगै अन्त्य भएको बताएको छ ।

कार्यालयले यो सेवासँगै सेवाग्राही लागि व्यवस्थित प्रतीक्षा एवम् सहायता कक्ष समेत स्थापना गरेको छ ।

QR token system launched in Kathmandu District Administration

अहिले यो सेवा राष्ट्रिय परिचयपत्र शाखा, नागरिकता शाखा र राहदानी विभाग शाखामा भएपनि भविष्यमा यही सबै शाखा र घरबाट नै अनलाइन टोकन लिन सकिने व्यवस्था कार्यालयले मिलाउने लक्ष्य राखेको छ ।

मन्त्री अर्यालले ‘पीएएस’ प्रणाली गृह मन्त्रालय मातहतको कार्यालयमा पहिलो भएको बताउँदै देशका सबै जिल्ला प्रशासनमा यो सेवा सुरु गर्नका लागि लाग्नु पर्ने बताए । उनले अहिलेको पुस्ताले पनि यस्तै खाले सेवा चाहेको बताए ।

कान्तिपुर

Link copied successfully