पर्यटन बोर्डमा तीन दिनसम्म चल्ने प्रदर्शनीमा फोटो पत्रकार नवीनबाबु गुरुङका ड्रोन फोटोहरु समेटिएका छन्, जसले नेपालका पर्यटकीय सम्भावना बोकेका तर अझै पर्याप्त रूपमा चर्चामा नआएका गाउँ–बस्ती, प्राकृतिक दृश्य र मौलिक चाडपर्वलाई उजागर गर्छन् ।
काठमाडौँ — फोटो पत्रकार नवीनबाबु गुरूङको एकल ड्रोन फोटो प्रदर्शनी नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि सुरु भएको छ ।
तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा नेपालका विभिन्न भू–भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँ–बस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्वहरू झल्किने तस्बिरहरू राखिएको छ ।
पर्यटकीय गन्तव्य तथा प्रचार प्रसारको पर्खाइमा रहेका स्थानहरूको आकाशबाट देखिने दृश्य प्रस्तुत गर्न र केही पर्यटनमा लोकप्रिय रहेका त केही जुर्मुराउँदै गरेका साथै भविष्यमा पर्यटनको प्रखर सम्भावना बोकेका गाउँ–ठाउँका फोटोहरू ड्रोनमार्फत चराहरूले देख्ने दृष्टिकोणबाट यी पर्यटकीय क्षेत्रहरू कस्तो देखिन्छन् भन्ने अवधारणामा आधारित रहेर तस्बिरहरू प्रस्तुत गरिएको फोटो पत्रकार गुरूङले बताए ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा पिजे क्लब नेपाल र तमु सञ्चारकर्मी संघ नेपालले प्रदर्शनीको आयोजना गरेको छ ।
नेपालमा ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको यस्तो प्रदर्शनी पनि पहिलो पटक आयोजना हुन लागेको आयोजकको दाबी छ । यसले नेपाली पर्यटनका नयाँ आयाम उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
![Drone photography exhibition [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/photoexibitionattourismboard12262025dsc8956-26122025011010-1000x0.jpg&w=1001&h=0)