गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो।
What you should know
भक्तपुर — भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो ।
परिसरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले एक महिनामा ३७ जना पक्राउ परेको जनाउँदै १३२ मुद्दा दर्ता भएको जानकारी दिए।
उनका अनुसार आठ वटा लागुऔषधसम्बन्धी, चार वटा जबर्जस्ती करणी र दुई वटा मानव बेचबिखनका घटना भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका घटना बढी देखिएका उनले बताए ।
त्यस्तै, जिल्लामा बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी भएको जानकारी दिँदै सूचना अधिकारी जवेजुले मङ्सिरमा ७१ वटा आर्थिक अपराधका घटनाअन्तर्गत बैंकिङ कसुरसम्बन्धी ६७ मुद्दा परेको बताए । सार्वजनिक चासो रहेका कर्तव्य ज्यानका दुई वटा मुद्दाको सफल अनुसन्धान गरिएको, फैसला कार्यान्वयनका क्रममा ३७ जना पक्राउ गरी ३८ लाख १३ हजार ८ सय रुपैयाँ जरिवाना भराइएको उनले जानकारी दिए ।
सूचना अधिकारी जवेजुले ती व्यक्तिलाई सात वर्ष छ महिना १६ दिनको कैद सजायको फैसला भएको बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ परेका ४९ मध्ये ३३ वटा मुद्दामा मिलापत्र भएको र १६ वटा मुद्दाको काम बाँकी रहेको जानकारी पनि उनले दिए ।
सूचना अधिकारी जवेजुका अनुसार १८ देखि ४० वर्षसम्मका ३३ जना र ४० देखि ६० वर्षसम्मका १६ जना पीडित छन् । पीडकको उमेर समूहका आधारमा तथ्याङ्क विश्लेषण गर्दा १८ देखि ४० वर्षका ३६ जना र ४० देखि ६० वर्षसम्मका २० जना रहेका छन् ।
मङ्सिर महिनामा आठ जना महिला हराएकामध्ये छ जना फेला परेका छन् भने सात जना पुरुष हराएकामध्ये पाँच जना फेला परेका छन् । ११ जना हराएका बालिकामध्ये सबैलाई फेला पारिएको प्रहरीले जनाएको छ । घरेलु हिंसाअन्तर्गत श्रीमान्–श्रीमतीको झगडासम्बन्धी २० वटा उजुरी परेकामा हालसम्म ११ वटा मिलापत्र गरिएको छ ।
ठाडो उजुरीतर्फ २०१ दर्ता भएकामा १६७ फछ्र्यौट भएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका ४४ उजुरीमध्ये ४० फछ्र्यौट भएको प्रहरीले जनाएको छ । लागुऔषधका आठ घटनामा १२ जना पक्राउ परेको जनाउँदै प्रहरी नायब उपरीक्षक जवेजुले विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको बताए । जिल्ला प्रहरी कार्यालय भक्तपुरले मङ्सिरमा पाँच वटा आत्महत्याका घटना भएको पुष्टि गरेको छ ।
