पशुपतिनाथबाट तलब भत्ता लिन्नँ, पशुपतिकै कोषमा अर्पण गर्छु: सदस्य सचिव भुसाल

'म यहाँबाट कुनै पारिश्रमिक लिन्नँ, मैले पाउने सेवा सुविधासहित सबै पारिश्रमिक पशुपतिनाथको संरक्षणमा अर्पण गर्छु । पारिश्रमिकबाट जम्मा हुने रकमले यहाँका बिग्रिएका सम्पदाको संरक्षण र संवर्द्धनमा उपयोग गरिने छ,' सदस्य सचिव भुसालले भने ।

पुस ३, २०८२

रासस

I will not take salary and allowance from Pashupatinath, I will donate it to the Pashupatinath treasury: Member Secretary Bhusal

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसालले आफूले पाउने तलब भत्ता पशुपतिनाथकै कोषमा अर्पण गर्ने घोषणा गरेका छन् ।

गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाबाट कोषको सदस्य सचिव नियुक्त भएपछि बुधबार नेपाल वेद विद्याश्रमका वटुकबाट वैदिक मन्त्रोच्चारणसहित पदबहाली गर्दै भुसालले पारिश्रमिक पशुपतिनाथलाई नै अर्पण गरी स्वयंसेवा गर्ने बताएका हुन् ।

'म यहाँबाट कुनै पारिश्रमिक लिन्नँ, मैले पाउने सेवा सुविधासहित सबै पारिश्रमिक पशुपतिनाथको संरक्षणमा अर्पण गर्छु । पारिश्रमिकबाट जम्मा हुने रकमले यहाँका बिग्रिएका सम्पदाको संरक्षण र संवर्द्धनमा उपयोग गरिने छ,' सदस्य सचिव भुसालले भने । 

लोप भएको पशुपतिनाथको सम्पत्ति खोजी गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । विश्वभरका दुई अर्बभन्दा धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा पशुपति क्षेत्रलाई विकास गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहने सदस्य सचिव भुसालको भनाइ थियो ।

उनलाई कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायत कर्मचारीले कोषको कार्यालयमा स्वागत गरेका थिए । 

रासस

Link copied successfully