आगजनी र तोडफोडमा संलग्नमध्ये ४८ जना आपराधिक पृष्ठभूमिका

भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न भएको अभियोगमा काठमाडौँ प्रहरीले पक्राउ गरी मुद्दा चलाएका २९८ जनामध्ये ४८ जना यसअघि पनि विभिन्न आपराधिक कार्यमा संलग्न रहेको पाइएको हो।

मंसिर २२, २०८२

विवेक पोख्रेल

48 of those involved in arson and vandalism have criminal backgrounds.

काठमाडौँ — भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा पक्राउ परेकामध्ये  ४८ जनाको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार परिसरले पक्राउ गरी मुद्दा दर्ता गरेका २९८ जनामध्ये ४८ जना यसअघि पनि विभिन्न आपराधिक कार्यमा पक्राउ परेका र मुद्दा दर्ता भएका प्रतिवादीहरू हुन् ।

उनीहरूमध्ये ४ जनालाई कर्तव्य ज्यान, २९ जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुर, ४ जनालाई चोरीसम्बन्धी कसुर, ४ जनालाई अभद्र व्यवहारसम्बन्धी कसुर, ७ जनालाई हातहतियारसम्बन्धी कसुर र १ जनालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।यसमध्ये एक जना भने आपराधिक उपद्रव र चोरीसम्बन्धी दुवै कसुरमा अनुसन्धानमा छन् ।

उनीहरू विरुद्ध यस अगाडि पनि ज्यान मार्ने, अभद्र व्यवहार, आपराधिक उपद्रव, सार्वजनिक अपराध, किर्ते, बैंकिङ कसुर, लागुऔषध, कुटपिट–अंगभंग, चोरी, ठगीजस्ता मुद्दा दर्ता भएको पाइएको  प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए। 

भदौ २४ को प्रदर्शनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित ९७ प्रहरी कार्यालयमा पनि तोडफोड, लुटपाट र आगजनी भएको थियो । सो क्रममा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully