ऊर्जामन्त्री कुलमान घिसिङले तामाङ पत्रकार संघसँग सहकार्य गर्न आफू तयार रहेको बताए । उनले आसन्न निर्वाचनबाट सही व्यक्ति निर्वाचित गराउने विषयमा पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताए ।
What you should know
काठमाडौँ — तामाङ पत्रकार संघले २२ औं स्थापना दिवस मनाएको छ । संघले आइतबार काठमाडौंमा पत्रकारलाई सम्मान, अन्तरक्रिया र रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा म्हेन्दोला फोलेका सञ्चालक सुनिल लामा दोङलाई 'रवीन्द्र तामाङ पत्रकारिता पुरस्कार–२०८२', ग्लोबल मिडियाकी सम्पादक तथा प्रबन्ध निर्देशक अन्जु डिम्दोङ तामाङलाई 'दीपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार–२०८२' र नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको ‘तामाङ तामसोर’ कार्यक्रमका सम्पादक तथा प्रस्तोता वीरबल तामाङलाई 'तामाङ मातृभाषा पत्रकारिता पुरस्कार–२०८२' प्रदान गरियो ।
संघका संस्थापक अध्यक्ष रवीन्द्र तामाङले स्थापना गरेको 'रवीन्द्र तामाङ पत्रकारिता पुरस्कार' को राशि १५ हजार रुपैयाँ रहेको छ । संस्थापक सचिव स्व. दीपन्द्र दोङ तामाङको स्मृतिमा स्थापित पुरस्कार र तामाङ मातृभाषा पत्रकारिता पुरस्कारको राशि १०/१० हजार रुपैयाँ छ ।
यस्तै, पाँच हजार राशिको 'कालिका तामाङ नारी प्रतिभा–२०८२' बाट नाट्यकर्मी तथा सञ्चारकर्मी शान्ति वाइबा तामाङ सम्मानित भएकी छन् । पुरस्कृत र सम्मानित हुनेहरुलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङलगायतले नगद राशि, सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा सम्बोधन गर्दै ऊर्जामन्त्री घिसिङले तामाङ पत्रकार संघसँग सहकार्य गर्न आफू तयार रहेको बताए । उनले आसन्न निर्वाचनबाट सही व्यक्ति निर्वाचित गराउने विषयमा पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताए । 'देश परिवर्तनको संघारमा छ । अर्को सरकार कस्तो आउने, नेतृत्व कस्तो आउने भन्ने कुरामा तपाईंहरु (पत्रकार)को भूमिका महत्त्वपूर्ण हुन्छ, ' मन्त्री घिसिङले भने, 'आम पब्लिकमा तपाईंहरुले पठाउने म्यासेज महत्त्वपूर्ण हुने भएकोले निर्वाचनमा सही मान्छेहरुलाई प्रमोसन हुने गरी काम गर्नुहोला, मेरो आग्रह छ ।'
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, नेपाल तामाङ घेदुङका महासचिव जगतमान दोङ, संघका पूर्वअध्यक्ष रुद्रसिंह तामाङलगायतले तामाङ पत्रकार संघ र पत्रकारले आगामी दिनमा खेल्नु पर्ने भूमिकाको बारेमा बोलेका थिए ।
अध्यक्ष नेत्र तामाङले २२ वर्षको यात्रामा तामाङ पत्रकार संघ परिपक्व बन्दै गएको भन्दै आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।
कार्यक्रमको दोस्रो सत्रमा संस्थापक तथा लेखक रवीन्द्र तामाङले 'तामाङ पत्रकार संघको विगत, तामाङ पत्रकारिताको वर्तमान अवस्था'बारे कार्यपत्र प्रस्तुत गरेका थिए । आइतबार नै संघको केन्द्रीय समितिको पूर्ण बैठक र रक्तदान कार्यक्रम सम्पन्न भएको अध्यक्ष तामाङले बताए ।
तामाङ पत्रकार संघ २०६१ मंसिर २१ मा स्थापना भएको थियो । संघले प्रत्येक वर्ष यही दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
