टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबत्ती’

टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको हो ।

मंसिर २०, २०८२

कान्तिपुर संवाददाता

'Smart street lights' on main roads in Tokha

What you should know

काठमाडौँ — काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको छ ।

टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको हो ।

उक्त सडकबक्तिको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे । स्मार्ट सडकबक्तिको शुभारम्भ गर्दै नगरप्रमुख अधिकारीले उज्यालो टोखा निर्माण गर्ने आफ्नो प्रतिवद्धता पुरा भएको बताए। उनका अनुसार सामाखुशीदेखि झोर, नयाँ बसपार्कदेखि भत्केको पुल, साउथ वेस्टन कलेजदेखि धापासी हाइट र दाहालगौँडादेखि ग्रीनल्याण्ड क्षेत्रमा सडकबक्ति जडान गरिएको छ ।

टोखा नगरपालिकाले २०८१ पुस २४ गते टोखाभित्रका मुख्य सडकमा यातायात व्यवस्था प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्त दुरुस्त राख्न सडकबक्ति जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको थियो ।

उक्त सम्झौताअनुसार टोखामा सडकबत्ति जडान गर्न नगरपालिकाले ६५ प्रतिशत र प्राधिकरणले ३५ प्रतिशत रकम व्यहोर्ने उल्लेख गरिएको थियो । सम्झौताअनुसार टोखा नगरपालिकाले रु दुई करोड ८४ लाख ८३ हजार र प्राधिकरणले रु एक करोड ५३ लाख ३७ हजार लगानी गर्ने उल्लेख छ ।

सडकबक्ति जडान गर्न प्रविधिको छनोट, बोलपत्रमार्फत खरिदकार्य सम्पन्न तथा निर्माणकार्यको सुपरिवेक्षणलगायतकार्य प्राधिकरणले गर्ने सम्झौतामा उल्लेख थियो ।

नगरपालिकाको स्वामित्वमा रहेका सोलार, सडकबक्ति जडित खम्बामा नयाँ स्मार्ट सडकबक्ति जडान गर्नुपर्ने भएमा नगरपालिकाले आफ्नै खर्चमा हटाइदिने, नगरपालिकाले सडकबक्ति उपयोग गरेवापत प्राधिकरणलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम कानुन बमोजिम तिर्ने, सडकबक्तिको प्रयोग गरेवापतको रकम मासिक रूपमा प्राधिकरण्लाई भुक्तानी गर्ने सम्झौतामा उल्लेख थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully