नेपाल-जर्मनी प्राविधिक सहकार्यको ५० वर्ष पूरा 

कार्यक्रममा अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री रामेश्वर खनालले नेपाल र जीआइजेड बीचको सहकार्यको चर्चा गरेका थिए ।

मंसिर २०, २०८२

कान्तिपुर संवाददाता

Nepal-Germany technical cooperation completes 50 years

What you should know

काठमाडौँ — नेपाल र जर्मनीबीच प्राविधिक सहकार्यको ५० वर्ष पूरा भएको अवसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरिएको छ । 

‘वोभेन थ्रु टाइम सेपिङ टुमरो टुगेदर’ भन्ने मूल नाराका साथ शुक्रबार नेपाल-जर्मनी प्राविधिक सहकार्यको ५० वर्ष ललितपुरमा एक समारोह आयोजना गरेर मनाइएको हो । 

जीआईजेड नेपालमा भएको कार्यक्रममा १९७० मा भक्तपुरको सम्पदा संरक्षणबाट सुरु भएको जर्मनी-नेपाल सहकार्यले समयसँगै कसरी पूर्वाधार तथा सहरी विकास, औद्योगिक तथा उद्यमशीलता प्रवर्द्धन, कृषि तथा वन व्यवस्थापन शान्ति निर्माण तथा द्वन्द्व रुपान्तरण, भूकम्पपछिको पुनर्निर्माण हुँदै आज उर्जा, स्वास्थ्य, दिगो आर्थिक विकासमा रुपान्तरित भएको विषय प्रस्तुत गरिएको थियो ।

जर्मन-नेपाल सहकार्यमा विभिन्न संस्थाबीच समेत सम्बन्ध विस्तार भएको र ती संस्थाका फरक-फरक काम भए पनि उद्देश्य भने विकास र साझा प्रगतिमा आधारित रहेको जीआइजेडले बताएको छ । 

कार्यक्रममा अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री रामेश्वर खनालले नेपाल र जीआइजेड बीचको सहकार्यको चर्चा गरेका थिए । उनले जीआइजेड विकास सहयोगी मात्र नभएर यसले नेपालको दिगो विकास, सामाजिक समावेशिता साथै नेपाली जनताका समृद्धिको यात्रामा समर्पित साझेदार बनेर उभिएको बताएका थिए । 

Nepal-Germany technical cooperation completes 50 years

यस्तै जर्मनका राजदूत उडो भोल्जले भक्तपुर मन्दिर पुनःस्थापनाबाट सुरु भएको जर्मनी-नेपाल सहकार्यले ५० वर्ष पूरा गरेकोमा खुसी व्यक्त गरेका थिए । उनले सहकार्यमा नेपालको सम्पदा महत्वपूर्ण रहेको र आफूहरुले संरक्षण गर्न सधैं साथ दिने बताएका थिए ।

जीआइजेडकी कन्ट्री रिप्रेजेन्टेटीभ पौलिना क्याम्पोस मोन्टेरोजले सरकार, नागरिक समाज, निजी क्षेत्र तथा समुदायसँग हातेमालो गर्दै दीर्घकालीन साझेदारी, संयोजन, प्राविधिक दक्षता तथा व्यवहारिक समाधानका रुपमा काम गर्ने गरेको बताएकी छिन् । 

कार्यक्रममा जर्मनी-नेपाल सहकार्यको ५० वर्षको अनुभव, उपलब्धि साथै भविष्य योजनाको विषयमा सामूहिक छलफलसमेत गरिएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully