आगजनीमा प्रहरीको हतियार लुटपाटसँगै ब्यारेकमा रहेका प्रहरी पोसाक र व्यक्तिगत सामान पनि जलेका थिए । प्रहरी भवनमा प्रर्दशनकारीले आगो झोसेपछि ज्यान जोगाउन प्रहरीहरू बर्दी फुकालेर भाग्न समेत बाध्य भएका थिए ।
What you should know
काठमाडौँ — निलो र सेतो रङ लगाइसकेपछि झ्याल र ढोका मर्मत हुँदैछ । प्रहरीका विभिन्न कक्षहरूको पार्टिसन पनि चल्दैछ । यसै हप्ता प्रहरी वृत्त बौद्धको पुनर्निमार्णको काम सकिनेछ ।
‘भवन जले पनि मातहतका विभिन्न कार्यालयमा रहेर सेवा दिदैँछौं,’ प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी सन्तोष रोकाले भने,‘अबको एक हप्ताभित्र निमार्णको काम सकाएर पुनः यही भवनबाट सेवा सुरु गर्ने तयारीमा छौं ।’
यो प्रहरी भवनले स्थानीयको सक्रियता पछि पुरानो रूप लिन लागेको हो । पुनर्निर्माण र मर्मतसम्भारका लागि स्थानीयकै सक्रियतामा समिति बनेको छ । समितिले ८० लाख खर्च लाग्ने अनुमान गरे पनि सो रकम बढ्ने देखिन्छ ।
भदौ २४ को प्रदर्शनका क्रममा बौद्धसहित काठमाडौंका ९७ प्रहरी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार ११ प्रहरी कार्यालय अझै पुरानै लयमा फर्कन सकेका छैनन् । जिल्ला प्रहरी परिसरको तथ्यांकअनुसार प्रहरी प्रभाग साँखु, प्रहरी चौकी स्युचाटार, प्रहरी बिटहरू मूलपानी, स्तुपा, वीरेन्द्रचोक(काँडाघारी) सहित अस्थायी प्रहरी बिट सुन्धारा र परोपकार बिट क्षति पुगेपछि नजिक रहेका मातहतका कार्यालयबाट सञ्चालनमा आएका छन् ।
प्रहरी वृत्तहरूले भने पुराना भवनको मर्मत सम्भार नभएसम्मका लागि वैकल्पिक व्यवस्था गरेका छन् । प्रहरी वृत्त गौशाला पशुपतिनाथ मन्दिर प्रवेशद्वार नजिकको धर्मशाला, प्रहरी वृत्त बानेश्वर नागरिक लगानी कोषको पुरानो भवन र प्रहरी वृत्त जनसेवा वडाको सांस्कृतिक भवनबाट सेवा सञ्चालन गरिएको छ ।
पहिले मुद्दा शाखा, प्रवर्द्धन शाखा, विशेष शाखालगायतका विभिन्न शाखाका अहिले दुई/तीन कोठा र पालबाट सञ्चालन हुँदा समस्या भए पनि प्रहरीले व्यवस्थापान गरिरहेको एसपी भट्टराई बताउँछन् । ‘मेस (खाना), शौचालय, सेवा सञ्चालनका लागि वैकल्पिक भवन साँघुरो छन् । प्रहरीहरू छरिएर सेवा दिँदा समस्या हुनु स्वाभाविक हो,’ उनले भने,‘वृत्तहरूका थुनुवा कक्ष जलेका छन् । ठूला मुद्दा चलाउन असहज छ । ढुवानीलगायतका कुरा पनि समस्या छन् । तर हामी निरन्तर सेवामा छौं ।’
प्रहरी वृत्त नयाँ बानेश्वरले पनि आफ्नै भवनमा प्रबलीकरण पछि सेवा सुरु गर्ने तयारीमा छ । वृत्त प्रमुख डीएसपी हरि खतिवडा भवन जलेपछि पनि पुरानै लयमा सेवा दिने प्रयास भइरहेको बताउँछन् ।
आगजनीमा प्रहरीको हतियार लुटपाटसँगै ब्यारेकमा रहेका प्रहरी पोसाक र व्यक्तिगत सामान पनि जलेका थिए । प्रहरी भवनमा प्रर्दशनकारीले आगो झोसेपछि ज्यान जोगाउन प्रहरीहरू बर्दी फुकालेर भाग्न समेत बाध्य भएका थिए । त्यो दिन प्रहरीका गाडी, मोटरसाइकल, कम्प्युटर, कागजात पनि नष्ट पारिएका थिए ।
२४ भदौमा देशभरका ४६५ प्रहरी कार्यालयमा क्षति पुगेको थियो । तीमध्ये ११८ प्रहरी कार्यालयमा पूर्ण क्षति भए । सबैभन्दा धेरै क्षति काठमाडौं उपत्यकामा भएको प्रहरीको तथ्याकमा छ। उपत्यकामा ६४ कार्यालय पूर्ण र १ सय ४६ मा आंशिक क्षति पुगेको थियो । मधेश प्रदेशमा पूर्ण क्षति १३ र आंशिक क्षति ७७ प्रहरी कार्यालयमा भएका थिए । कोशीमा १६ प्रहरी कार्यालयमा पूर्ण र ४१ मा आंशिक, बागमती (उपत्यकाबाहेक) मा ८ कार्यालयमा पूर्ण र ३७ मा आंशिक क्षति भएको थियो ।
यस्तै, सुदूरपश्चिममा १० प्रहरी कार्यालय पूर्ण र ६ मा आंशिक र लुम्बिनीमा ४ मा पूर्ण र १० मा आंशिक क्षति पुगेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कर्णाली प्रदेशमा भने कुनै पनि प्रहरी कार्यालयमा क्षति हुन पाएको थिएन ।
२३ र २४ भदौको घटनामा क्षति पुगेका अधिकांश भवनको पुनर्निर्माण र मर्मतसम्भार स्थानीयकै सहयोगमा भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले बताउछन् । प्रहरी मेसका सामान, ओढ्ने–ओछ्याउनेसमेत स्थानीयले उपलब्ध गराएका छन् ।२४ भदौमा प्रदर्शनकारीले काठमाडौंमा ३ प्रहरीको ज्यान लिएका थिए ।
सिन्धुलीका प्रहरी सहायक निरीक्षक मलन राय, कास्कीका प्रहरी सहायक हवल्दार अमृत गुरुङ र दार्चुलाका प्रहरी जवान उत्तमसिंह थापाको प्रदर्शनकारीको कुटपिटबाट मृत्यु भएको हो । राय र थापा महाराजगन्जमा कार्यरत थिए । महाराजगन्जमा आगजनी हुँदा भित्र फसेका २४ प्रहरीलाई सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो ।
