काठमाडौंमा लुटिएका हतियारसहित तीन जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

मंसिर १५, २०८२

रासस

Three arrested with stolen weapons in Kathmandu

काठमाडौँ — नेपाल प्रहरीले भदौ २४ गतेको प्रदर्शनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौं कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौंको सुन्धारा बस्ने १९ वर्षीय रामचन्द्र कुँवर र काठमाडौं बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी छन् ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आन्दोलनका क्रममा प्रहरीका हतियार लुटपाट गरी लुकाइराखेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकासँग नेपाल प्रहरी लेखिएको पेस्तोल एक थान र विभिन्न कम्पनीका मोबाइल दुई थान बरामद गरेको छ । पक्राउ रसिल जोशी लागूऔषध मुद्दामा प्रहरी वृत्त स्वयम्भुमा थुनामा रहेको अवस्थामा जेन–जी आन्दोलनको मौका छोपेर भागेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता आचार्यले बताए ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कार्यालयले जनाएको छ । 

रासस

Link copied successfully