सूचना प्रविधिको उपयोग गर्दै भाषा संरक्षणमा लाग्न मेयर महर्जनको आग्रह

मेयर महर्जनले नेपाः भाषा संरक्षण र संवर्द्धनका लागि मंका खलःलाई जुनसुकै सहयोग गर्न महानगरपालिका तयार रहेको बताए ।

मंसिर १२, २०८२

रासस

Mayor Maharjan urges use of information technology to preserve languages

What you should know

पाटन (ललितपुर) — ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सूचना प्रविधिको उपयोग गर्दै भाषा संरक्षणमा लाग्न आग्रह गरेका छन् ।

नेपाः भाषा मंका खलःको १४औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष एवम् पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान गर्न महानगरले आज आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । सूचना प्रविधिले फड्को मारिरहेको युगमा नेपाः भाषा, संस्कृतिको संरक्षणलाई प्राथमिकता राखेर सबैसँग सहकार्य र समन्वयका साथ काम गर्न पनि उनले आग्रह गरे ।

'मंका खलःले भाषा, संस्कृतिको क्षेत्रमा विज्ञहरूलाई छनोट गरेर काम गर्न आवश्यक छ । ललितपुर महानगरले नेपाः भाषा संरक्षण र संवर्द्धनका लागि मंका खलःलाई जुनसुकै सहयोग गर्न तयार छ,' प्रमुख महर्जनले भने,'बजेटमा कुनै कमी हुन नदिन हामी सहयोग गर्छौं । सूचना प्रविधिको प्रयोग गरी नेपाः भाषालाई प्रवर्द्धन गर्न प्रभावकारी कदम चाल्न आवश्यक छ ।'

मंका खलःको प्रमुख उद्देश्य र दायित्व नै भाषा, संस्कृति तथा  सम्पदालाई प्राथमिकतामा राखेर काम गर्नु हो भन्दै उनले यसका लागि महानगर आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।

मंका खलःका अध्यक्ष महेन्द्रलाल महर्जनले आजभोलि नेपाः भाषाको प्रयोग कम भएकाले समस्यामा पर्दै गएको उल्लेख गर्दै आफ्नोे परिवारबाट नै यसको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । लोकसेवा आयोगको परीक्षामा समेत नेवारी भाषालाई समावेश गराउनका लागि मंका खलले प्रयास गर्ने बताउँदै उनले यसका लागि महानगरलगायत सबै सरोकार भएकाहरूको सहयोग आवश्यक रहेको बताए ।

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपाः भाषा मंका खलःले नेवारी भाषाको संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । भाषा र संस्कृति संरक्षणका लागि महानगरले स्थानीय पाठ्यक्रम लागू गरेको जानकारी गराउँदै उनले नेवारी भाषा नै लोप हुने अवस्थामा पुगेकाले भाषा र लिपिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिइन् ।

रासस

Link copied successfully