पाटनको पिलाछेंमा शुक्रबार उद्यम मेला हुँदै

मेलाले विभिन्न उद्यम र उधमीहरूलाई उत्पादन, इनोभेसनलाई प्रस्तुत गर्न प्लाटर्फम प्रदान गर्नेछ ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

Enterprise fair to be held in Pilachhen, Patan on Friday

What you should know

काठमाडौँ — लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) को हल्ट प्राइजले दिगो प्रणाली संस्थासँगको सहकार्यमा उद्यम मेला सञ्चालन गर्दैछ । आउँदो शुक्रबार पाटनको पिलाछें कम्युनिटी होमस्टेमा उक्त मेला हुन लागेको हो ।

एलएसीएम, दिगो प्रणालीको सहकार्यमा हुन लागेको मेलामा नेपालमै केही गर्ने सोच बनाई व्यवसाय गरेका युवादेखि हरेक वर्गका उद्यमीको व्यवसायमा टेवा पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागेको हल्ट प्राइज एट एलएसीएमकी क्याम्पस डाइरेक्टर इच्छा चन्दले बताइन् । उनले भनिन्, ‘यो एउटा व्यवसाय पिचिङ कम्पिटिसन हो । स्थानीय रुपमा उपलब्ध भएको व्यवसाय जो राम्रो हुँदा पनि प्रडक्टको लागि राम्रो प्लाटफर्म पाएको छैनन् । उनीहरुको राम्रो होस् नेपालमै केही गर्ने सोचले बिजनेस गरिरहेको युवाको ग्रो होस् भन्ने हो ।’

आफूहरुले उक्त मेला होमस्टेमा गर्नुको उद्देश्य पनि फरक रहेको उनले बताइन् । ‘त्यहाँको स्थानीयले उत्पादन गरेको प्रडक्टहरु भएर पनि मार्केटमा शो गर्न नपाएको थाहा पाएपछि सबैलाई जानकारी होस् भन्ने उद्देश्य हो,’ उनले भनिन्, ‘हाम्रो वातावरणमैत्री कुनै पनि प्लास्टिकको प्रयोग नगरी इन्भारमेन्ट फ्रेन्ड्ली प्रडक्टहरुलाई प्रोत्साहन गर्ने नै उद्देश्य हो ।’ 

पूर्व मिस नेपाल तथा दिगो प्रणालीकी सृच्छा प्रधानले उद्यम मेलाले समुदायसँग नजिक भएर काम गर्ने मौका दिने बताइन् । उनले भनिन्,‘सोसल इन्टरप्रेनरसिप भनेको कस्तो हुनुपर्छ त भन्ने कुरा यसले सिकाउँछ । कसरी हरेक इन्टरप्रेनरसिपले नेपाली माटोलाई अन्य देशमा चिनाउन खोजेको छ त भन्ने कुरा बझ्ने यो प्रोगाम एउटा चान्स हो ।’

पिलाछें कम्युनिटीकी पीआर म्यानेजर रहेकी जेना महर्जनले उक्त कार्यक्रमले पिलाछेंलाई प्रमोट गर्नुका साथै त्यहाँ बन्ने विभिन्न सामग्रीको बारेमा धेरैलाई जानकारी प्रदान गर्ने बताइन् । उनले भनिन्, ‘त्यहाँ समुदायमा आवश्यक पर्ने सामग्री आफैंले बनाइन्छ । यो नेपालमा मात्र नभएर अन्य देशमा पनि पिलाछेंको बारेमा थाहा होस् भन्ने उद्देश्य रहेको छ । 

उक्त मेला खुल्ला बजारको रुपमा सञ्चालन गरिनेछ । साथै विभिन्न स्टलहरुमा उद्यमीहरुले आफ्नो उत्पादन, विभिन्न प्रकारका खानेकुरा, राख्न पाउनेछन् ।

मेलाले विभिन्न उद्यम, स्टार्टअप, र व्यक्तिहरूलाई समुदायमा उत्पादन भएका विभिन्न प्रडक्टहरु, आफ्नो आइडिया, इनोभेसनलाई प्रस्तुत गर्न प्लाटर्फम प्रदान गर्नेछ ।

यसले साना उद्यमीहरुलाई सशक्तीकरण गर्ने, सहभागीहरुलाई प्रोत्साहन गर्ने, स्थानीय आर्थिक गतिविधिलाई समर्थन गर्ने, सामुदायिक विकासको लक्ष्य राखेर यस कार्यक्रम गरेको संस्थाले बताएको छ । 

साथै हल्ट पुरस्कार प्रतियोगितामा रुचि राख्नेले आधिकारिक हल्ट प्राइजको वेबसाइटमार्फत प्रतिस्पर्धाका लागि दर्ता गर्न सक्नेछन् । हल्ट प्राइज विद्यार्थीहरुबीच नोबल पुरस्कारका रुपमा चिनिन्छ । यो अन्तर्राष्ट्रिय विद्यार्थी प्रतियोगिता हो । यसको उद्देश्य विश्वका युवालाई सामाजिक परिवर्तनका लागि उद्यमी बनाउने हो । 

उक्त मेलामा लियो क्लब अफ अल्काले रक्तदान शिविरसमेत राखने छ । 

कान्तिपुर

Link copied successfully