बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बत्ती राखिने
काठमाडौँ — बागमती नदी करिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा बत्ती राखिने छ । त्यस क्षेत्रको निगरानीका लागि सीसीटीभी जडान गरिने सहरी विकास मन्त्रालयले जनाएको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको गोकर्ण-बल्खु क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनधिकृत गतिविधि तथा सुरक्षा चुनौतिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आधुनिक सीसीटीभी सर्भिलेन्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्ने छ ।
बत्ती र सीसीटीभी जडानका लागि समितिले निर्माण व्यवसायी छनोटका लागि टेन्डर आह्वान गरिसकेको छ । नदी एवं नदी किनारमा फोहोर फालेमा त्यसको निगरानीसीसीटीभीमार्फत निगरानी गरिनेछ ।
१२० थान अत्याधुनिक प्रविधिका तापक्रम, धुलो तथा पानी प्रतिरोधी दिन–रात दुवै समयमा काम गर्ने क्यामेरा जडान गरी सर्भर र मनिटरिङ युनिट काठमाडौं उपत्यकाको प्रहरी कार्यालयमा रहने छ । अँध्यारा क्षेत्र उज्यालो बनाई सुरक्षित र व्यवस्थित वातावरण निर्माणका लागि ५६७ थान स्मार्ट सडक बत्ती, ४८ थान फ्लड लाइट तथा ६ थान हाइमास्ट फ्लडलाइट जडान गरिने समितिले जनाएको छ ।
