३३ वटा मोटरसाइकल र १८ स्कुटर धनीलाई जिम्मा
What you should know
काठमाडौँ — काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ ओटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार ३३ मोटरसाइकल र १८ स्कुटर धनीलाई जिम्मा लगाएको हो।
उक्त सवारी साधनहरू काठमाडौं उपत्यका ट्राफिक प्रहरीले दर्ता भएका निवेदनका आधारमा खोजतलास गर्दा काठमाडौंको गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभु लगायतका विविध स्थानबाट फेला पारेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार भेटिएका सवारीमा मध्ये केहीमा नक्कली नम्बर प्लेट राखेर प्रयोग गरिएको थियो ।
साउन यता ट्राफिक प्रहरीले फेला पारेका ९१ ओटा सवारी साधनमध्ये ५१ ओटा सवारीसाधन काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
एसपी सुवेदीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५०३ र २०८०/८१ मा ४१७ वटा चोरी वा हराएका दुईपाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।
चोरीमा संगलन भएको आरोपमा १९ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी निकायमा पठाइएको समेत सुवेदीले जानकारी दिए ।
ट्राफिक प्रहरीले सवारी चोरी रोकथामका लागि सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न आग्रह गरेको छ। एकान्त, कम भीडभाड भएका स्थानमा पार्किङ नगर्न पनि ट्राफिक प्रहरीको अनुरोध छ ।
एसपी सुवेदीका अनुसार सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० र नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिन्छ ।
