काठमाडौँको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना चालकलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ — ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी काठमाडौँ उपत्यकामा सवारी चलाउने छ जनालाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार, काठमाडौँको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना चालकलाई नियन्त्रणमा लिएको हो। उपत्यकाभर ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्दै आएको छ।
नियन्त्रणमा लिइएकाहरूमा पठाओ मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–६ का ३९ वर्षीय शेखरनाथ घिमिरे, बाराको पचरौता नगरपालिका–६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोटको बेलकोटगढी नगरपालिका का २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ का ४७ वर्षीय सुरजकुमार बजगार्इँ, भाडाबस चालक मकवानपुरको थाहा नगरपालिका–४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक सल्यानका २२ वर्षीय भीमबहादुर खड्का रहेका छन् भने प्रवक्ता सुवेदीले जानकारी दिए।
नियन्त्रणमा लिइएकाहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरी मापद पदार्थ र लागुपदार्थलगायतका जाँचमा सधैं सक्रिय रूपमा खटिएको र नशालु पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए।
उनले भने, 'सार्वजनिक सवारीसाधन चलाउने चालकले धेरै व्यक्ति बोकेका हुन्छन्। मापसे, लापसे गरी सवारी चलाए धेरैको ज्यान जोखिममा पर्छ। उक्त कार्य नगर्न हामी आग्रह गर्दछौँ। अवज्ञा गरे कानुन बमोजिम कारबाही हुन्छ।'
