भक्तपुरमा रेडक्रसको गोदामघर तयार

करिव १२ करोडका लागतमा बनेको सो गोदामघरमा विपद्का समयमा अत्यावश्यक गैरखाद्य समग्री सहित बालबालिका र महिलाका लागि  ‘डिग्निटी किट’ राखिने छ ।  

कार्तिक २४, २०८२

रासस

Red Cross warehouse ready in Bhaktapur

What you should know

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव १२ करोडका लागतमा बनेको सो गोदामघरमा विपद्का समयमा अत्यावश्यक गैरखाद्य समग्री सहित बालबालिका र महिलाका लागि  ‘डिग्निटी किट’ राखिने छ ।  

नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी र चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बिआन सियाओले संयुक्त रुपमा आइतबार सो गोदामघरको शुभारम्भ गरे। भूकम्प र अन्य प्राकृतिक विपदको उच्च जोखिम रहेको नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा विपद् व्यवस्थापनका लागि गोदाम घरमा राखिने सामग्रीले राहतका काम गर्ने छ । 

सो अवसरमा  चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बियन साओले भने, “नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । यहाँ आइपर्ने विपदका समयमा मानवीय सहायता प्रदान गर्ने कार्यको एक हिस्सा बन्न पाउँदा चिनियाँ रेडक्रस अत्यन्त खुसी छ । आगामी दिनमा पनि नेपाल रेडक्रस सोसाइटीलाई आवश्यक पर्ने हरेक क्षेत्रमा साझेदारीका सम्भावनाको खोजी गर्न हामी तयार छौँ ।”

निमित्त कार्यकारी निर्देशक  विडारीले चिनियाँ रेडक्रस सोसाइटीले  नेपाल रेडक्रस सोसाइटीलाई निरन्तर महत्वपूर्ण क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको बताए। उनले भने, “ नेपालमा आइपर्ने जुनसुकै विपद पश्चात् पहिलो सहायता प्रदान गर्ने साझेदार निकाय चिनियाँ रेडक्रस सोसाइटी हो ।”

सो अवसरमा चीनका राजदूत वाङ् सिन, चिनियाँ रेडक्रस सोसाइटी अन्तरराष्ट्रिय सहयोग विभागका निर्देशक हाई लीमान, चिनियाँ रेडक्रस सोसाइटी विपद व्यवस्थापन विभागका निर्देशक सेई वेन्नन र नेपाल रेड्क्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका पदाधिकारी, जुनियर तथा युवा रेडक्रस सर्कलका युवा स्वयंसेवकलगायत कर्मचारीकोे उपस्थिति रहेको थियो ।

रासस

Link copied successfully