पुस्तकालय बाकसमा साहित्य, कविता, यात्रा विवरण, जीवनीदेखि बालसाहित्यसम्मका विविध पुस्तक उपलब्ध हुनेछन् ।
काठमाडौँ — ग्राहकलाई स्वादिष्ट भोजनको मात्रै सुविधा छैन, ज्ञानको स्वाद पनि चखाउने रेस्टुरेन्ट सञ्चालनमा आएको छ । काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रो रेस्टुरेन्टले ग्राहकलक्षित पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ ।
रेस्टुरेन्टले हालै ‘लिटल फ्री लाइब्रेरी’ (सानो निःशुल्क पुस्तकालय) नौलो अभियानको सुरुवात गरेको छ । जहाँ ग्राहकले पुस्तक निःशुल्क लिन सक्ने र आफ्नै पुस्तक राखिदिन सक्ने व्यवस्था गरिएको छ । रेस्टुरेन्टको प्रवेशद्वार नजिकै राखिएको यो सानो तर आकर्षक पुस्तकालय बाकसमा साहित्य, कविता, यात्रा विवरण, जीवनीदेखि बालसाहित्यसम्मका विविध पुस्तकहरू उपलब्ध हुनेछन् ।
‘पुस्तक छोड र पुस्तक लिएर जाऊ' वा ‘एउटा लिनुस्, एउटा राखिदिनुस्’ भन्ने अवधारणामा आधारित यो अभियानले पुस्तक आदानप्रदानमार्फत पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्ने रेस्टुरेन्टका म्यानेजर राकेश डंगोलले बताए ।
पुस्तकालयको यो पहलले स्वाद, संस्कृति र सिर्जनशीलताको सम्मिश्रणमार्फत ग्राहकलाई अझै गहिरो अनुभव दिलाउने अपेक्षा गरिएको उनको भनाइ छ । रेस्टुरेन्टले भविष्यमा साहित्यिक वाचन कार्यक्रम, लेखकसँग अन्तरक्रिया र बालसाहित्य प्रवर्द्धनका विशेष गतिविधि आयोजना गर्ने डंगोलले बताए ।
