काठमाडौँ उपत्यकामा मेलम्चीको पानी रोकिँदा समस्या बढेको भन्दै सरकार वार्ता र सहमति कार्यान्वयनमा सक्रिय भएको छ।
What you should know
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन् ।
विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राखी आयोजना प्रभावितले मुहान बन्द गर्दा काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन रोकिएपछि सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गरिदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएकी थिइन् । हाल खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन् ।
विगतमा गरिएका सहमति र हाल राखिएका माग वार्ता र छलफलबाट समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौँ उपत्यकामा खानेपानीको समस्या देखिन थालिसकेकोले यसमा गम्भीर हुन आग्रह गरेका थिए । उनले समस्या समाधान गरी जतिसक्दो छिटो काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन सरकार लागिपरेको बताए ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले विगतमा गरिएका सम्झौता सरकारले कार्यान्वयन गर्नुपर्ने बताए । आयोजनाले लिएको जग्गा तथा घर भाडा, विगतको निर्माण व्यवसायी सिएमसीका सामान आपूर्तिकर्ताले पाउनुपर्ने रकम भुक्तानी गर्नुपर्ने, मेलम्ची बजारदेखि मेलम्चीघ्याङसम्मको सडक निर्माण गरिनुपर्ने, मेलम्ची नदीबाट पथान्तरणपछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणका आधारमा काठमाडौँ उपत्यकाको खानेपानी लि.ले बिक्री गरेबापतको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने बताए ।
तत्कालीन खानेपानीमन्त्रीसँग २१ असोज २०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएको थियो ।
