भक्तपुरका नेवार समुदायले मनाए सकिमना पुन्ही पर्व

टोल टोलमा रहेको स्थानीय दाफ भजन समूहले भुटेका मकै, भटमास, गहुँलगायत गेडागुडीमार्फत चित्रकला प्रदर्शनी गर्दै कात्तिक शुक्ल पूर्णिमा मनाएका हुन् ।

कार्तिक १९, २०८२

सुन्दर शिल्पकार

Newar community of Bhaktapur celebrates Sakimana Punhi festival

भक्तपुर — भक्तपुरका नेवार समुदायले बुधबार सकिमना पुन्ही पर्व मनाएका छन् । कात्तिक शुल्क पूर्णिमाको दिन नेवार समुदायले बिहानदेखि भगवान नारायण र शिवको पूजा आराधना गर्दै अन्न र गेडागुडीबाट विभिन्न मठमन्दिर तथा देवदेवीका आकृति अंकित चित्र बनाएर यो पर्व मनाएका हुन् ।

टोल टोलमा रहेको स्थानीय दाफ भजन समूहले भुटेका मकै, भटमास, गहुँलगायत गेडागुडीमार्फत चित्रकला प्रदर्शनी गर्दै कात्तिक शुक्ल पूर्णिमा मनाएका हुन् । स्थानीय भाषामा हलिमली भन्ने यस पर्वमा पिँडालु, सगरखण्डसमेत खाने प्रचलन छ । प्रसादकै रूपमा मालपुवा र पुरीसमेत खाने गरिन्छ । 

प्रदर्शनीमा राखिएका चित्रकलामा पूजा गरि भजन गाउने चलन समेत छ । विद्यालयको स्थानीय पाठ्यक्रमा समेत यो पर्वको विषयमा पढाइ हुने भएकाले विद्यालयले विद्यार्थीलाई अन्नबाट बनेका देवदेवताका चित्रकला अवलोकनसमेत गराएका थिए । 

यस दिन भक्तपुरका भक्तजनहरु आशापुरी महादेव, यातु महादेव, केदारनाथको शिर डोलेश्वर महादेव, चाँगुनारायण, इचंगुनारायण लगायतका मन्दिरमा दर्शन गर्न जाने चलन छ ।

सुन्दर

Link copied successfully