नेपाल र इटालीका विविधता झल्किने २५ तस्बिर काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्ड परिसरमा बुधबारसम्म नि:शुल्क अवलोकन गर्न सकिनेछ ।
काठमाडौँ — नेपाल पर्यटन बोर्डले आफ्नो नियमित दृश्य–संवाद अभियान #फोटोनेपाल अन्तर्गत ‘अ टेल अफ टु ल्यान्ड्स : नेपाल मिट्स सिसिली’ नामक फोटो प्रदर्शनी सोमबार बिहान भृकुटीमण्डपस्थित पर्यटन बोर्ड परिसरमा आयोजित एक विशेष समारोहबीच उद्घाटन भएको छ ।
उक्त प्रदर्शनीको उद्घाटन वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिकमत सिंह ऐयर, फोटो पत्रकार क्लबका अध्यक्ष द्वारिका काफ्ले उपस्थित थिए ।
फोटोनेपाल अभियान संयोजक नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदीले कार्यक्रममा जानकारी दिँदै '#फोटोनेपाल' सन् २०१६ मा सुरु गरिएको दृश्य अभियान हो, जसको उद्देश्य नेपालको विविध सांस्कृतिक, प्राकृतिक र मानवीय सौन्दर्यलाई फोटोग्राफीको माध्यमबाट विश्वसामु चिनाउने रहेको बताए ।
वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले उद्घाटनपछि आफ्नो भनाइ राख्दै नेपाल पर्यटन बोर्डले फोटोग्राफीलाई देशको सांस्कृतिक कूटनीतिका रूपमा अघि बढाएको देख्दा खुशी लागेको बताए ।फोटो पत्रकार क्लबका अध्यक्ष द्वारिका काफ्लेले यस्ता प्रदर्शनीहरूले फोटोग्राफरहरूको सिर्जनात्मक प्रयासलाई थप ऊर्जा र प्रेरणा दिने बताए ।
त्यस्तै, निमित्त कार्यकारी प्रमुख हिकमत सिंह ऐयरले नेपालका सांस्कृतिक र धार्मिक विविधता अन्तर्राष्ट्रिय सन्दर्भमा प्रस्तुत गर्न यस्ता प्रयासहरू प्रभावकारी माध्यम रहेको र बोर्ड यस्ता अभियानहरुमा सबै फोटोग्राफरसँग सहकार्य गर्ने बताए ।
इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्तेले नेपालसँग घनिष्ट सम्बन्ध स्थापित भएको र नेपाल फोटोग्राफीलाई स्वर्ग भएको बताइन् । उनले खिचेको नेपाल र इटालीका विविधता झल्किने २५ फोटोहरू यस प्रदर्शनीमा प्रदर्शित छन्, जसलाई भृकुटीमण्डपस्थित बोर्ड परिसरमा बुधबारसम्म बिहान १० बजेदेखि दिउँसो ३:३० बजेसम्म नि:शुल्क अवलोकन गर्न सकिन्छ।
